२०८३ मंसिर १ , मंगलबार (2026 Nov 17, Tuesday)

काँडाचौर बसपार्क सञ्चालनमा आयो



दैलेख – निर्माण सम्पन्न भएको करिब तीन वर्षपछि दैलेख सदरमुकामस्थित काँडाचौर बसपार्क औपचारिक रूपमा सञ्चालनमा आएको छ । नारायण नगरपालिका–६ स्थित बसपार्क र वडा नं. १ को भगवती टोल नजिक स्थापना गरिएको छुट बस काउन्टर सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

भौगोलिक रूपमा साँघुरो सदरमुकाम बजारमा सवारी साधनको चाप र अव्यवस्थित पार्किङका कारण ट्राफिक जाम बढ्दै गएको थियो । बजारको सौन्दर्यमा समेत असर परेको अवस्थामा तीन वर्षअघि नै निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

बसपार्कको उद्घाटन गर्दै नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले अव्यवस्थित यातायातका कारण सहरको सौन्दर्यमा समस्या उत्पन्न भएकाले बसपार्क सञ्चालनसँगै व्यवस्थित सहर निर्माणको बाटो खुलेको बताउनुभयो ।

बसपार्क सञ्चालनको पूर्ण जिम्मेवारी नगरपालिकाले लिने उल्लेख गर्दै उहाँले अपुग भौतिक पूर्वाधार निर्माण र मर्मत सम्भारका काम तत्काल पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय प्रशासन, निर्माण व्यवसायी र यातायात व्यवसायी समितिको समन्वयमा सवारी साधन सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रशासनले गरेका निर्णयअनुसार यातायात व्यवसायीले चल्नुपर्ने र अटेर गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने नगर प्रमुख शर्माले स्पष्ट पार्नुभयो ।

यसैगरी, भगवती टोल नजिक स्थापना गरिएको छुट बस काउन्टरको उद्घाटन गर्दै नारायण नगरपालिका–१ का वडा अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बसपार्क र काउन्टरलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न यातायात व्यवसायी तथा स्थानीय टोल विकास समितिको सहयोग आवश्यक रहेको बताउनुभयो ।

गत कात्तिक १८ गते सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले मङ्सिर १ गतेदेखि लागू हुने गरी यातायात र बजार व्यवस्थापनसम्बन्धी १७ बुँदे निर्णय गरेको थियो । सोही निर्णयअनुसार बसपार्क र छुट बस काउन्टर सञ्चालनमा ल्याइएको हो ।

निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय नजिकको पुरानो बसपार्क क्षेत्रमा ग्यारेजमा राखिएका बाहेक अन्य सबै सवारी साधन राति काँडाचौर बसपार्कमा पार्किङ गर्नुपर्नेछ । मालवाहक ट्रकबाहेक अन्य सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, कारागार, प्रहरी कार्यालय र डिभिजन वन कार्यालय हुँदै मध्यपहाडी राजमार्गबाट काँडाचौर पुग्ने एकतर्फी यातायात प्रणाली लागू गरिएको छ ।

त्यस्तै, बजार क्षेत्रमा सार्वजनिक जग्गा तथा सडकपेटी अतिक्रमण गरी राखिएका पसल र सामान हटाउने निर्णय पनि कार्यान्वयनमा लगिएको छ । मालवाहक सवारी साधनले साँझ ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सामान लोड तथा अनलोड गर्न पाउने व्यवस्था गरिएको छ ।

बसपार्क क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना गर्ने र विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्ने निर्णयसमेत कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
यी निर्णय कार्यान्वयनका लागि नारायण नगरपालिकाका वडा नं. १, ३, ६, ७, ८ र ९ का वडा अध्यक्षहरूले अगुवाइ गरिरहनुभएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १ गते मंगलबार