
दैलेख – कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडामा भएको फोर्स गाडी दुर्घटना भएकाे ९ दिनपछि बेपत्ता चालक तुलाराम सुवेदीको शव फेला परेको छ । शनिबार बिहान अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको प्रहरीले जनाएकाे छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी चालक तुलाराम सुवेदीको शव शनिबार बिहान अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको शव पहिचान मृतकका बुबाले गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयाे ।
उक्त दुर्घटनास्थलमा भीरमा फेला परेका जाेखे तिरवा वाहेक गाडीसंगै बेपत्ता भएका भनी विवरण खुलेका ४ जना मध्ये चालक तुलारामकाे शव फेला पर्नु अघि शुक्रबार सिर्जना खडका र साेमबार मेगे तिरुवाकाे शव फरकफरक ठाउँमा कर्णाली नदीमै फेला परेका थिए । दुर्घटनामा वेपत्ता सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझैं अज्ञात छ ।
असार १८ गते बिहीबार बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटनापछि गाडी नदीमा डुबेको थियो ।
गाडीमा सवार पाँच जनामध्ये कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा उद्धार गरिए पनि दुल्लु अस्पतालमा चिकित्सकले मृत घोषणा गरेकाे थयाे । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेलीले शव र गाडी खाेजी राखेकाे ९ औं दिनसम्म पनि गाडी फेला पर्न सकेको छैन ।
दुर्घटनापछि नदीमा बेपत्ता भएका पचालझरना गाउँपालिका–९ कै ६२ वर्षीय मेगे तिरुवाको शव दुर्घटनाकाे चाैथाे दिन सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा फेला परेको थियो । त्यसैगरी रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव शुक्रबार सुर्खेतको चौकुने गाउँपालिका–४ अन्तर्गत डङ्डगे क्षेत्रमा भेटिएको थियो ।









प्रतिक्रिया दिनुहोस्