कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा कुँवरले हातपात गरेकी थिइन् ।
कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्षमाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिनुभयाे ।
वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध किटानी जाहेरी दिएपछि सोही आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थप भई कानूनी प्रक्रिया समेत अघि बढाइएको छ ।
यता पत्रकार कुँवरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सार्वजनिक कार्यक्रममा हुलहुज्जत र विवाद गरेकाे विषयमा पत्रकारको पक्राउ परेकाेले घटनाले देश चर्चा पाएको छ । कुवँरले पत्रकार आचारसंहिता विपरित काम गरेकाे पत्रकारहरुले नै टिप्पणी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्