२०८३ मंसिर ७ , सोमबार (2026 Nov 23, Monday)

अपराध रोकथाममा नागरिक सहकार्यता बढाइँदै



दैलेख – जिल्लामा सडक दुर्घटना, आपसी झैँझगडा, कुटपिट, चोरी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय दैलेखले नागरिकसँग सहकार्यता बढाउने भएको छ ।

शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी बोध गराई सहकार्यता बढाउन लागिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकले बताउनुभयो ।

उहाँले सम्भावित आपराधिक गतिविधि, झैँझगडा तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

प्रहरीले सार्वजनिक गरेको सूचनामा सडक दुर्घटना न्यूनीकरण, झैँझगडा तथा कुटपिट नियन्त्रण र चोरीलगायतका आपराधिक गतिविधि रोकथामका उपाय समेटिएका छन् ।

तीव्र गति र लापरबाही नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुले हेल्मेट लगाउन तथा चारपाङ्ग्रे सवारीमा सिटबेल्ट प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधनको क्षमताभन्दा बढी यात्रु नराख्न, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, यान्सत्रिक जाँच गराउन सचेत गराउनसंगै बेलाबेला मापसे, मापसे चेकजाँच र कारवाही गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज वरिष्ठ सई जयसिंह गुरुले जानकारी दिनुभयो ।

त्यस्तै, सामान्य विवादलाई झैँझगडा र हिंसात्मक घटनामा परिणत हुन नदिन, मादक पदार्थ तथा लागुऔषध सेवन गरी होहल्ला र अभद्र व्यवहार नगर्न प्रहरीले आग्रह गरेको छ ।

समुदायमा कुनै विवाद वा समस्या उत्पन्न भए कानुन हातमा नलिई प्रहरी तथा सम्बन्धित निकायको सहयोग लिन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले आग्रह गर्नुभयो ।

चोरी नियन्त्रणका लागि घर, पसल तथा कार्यालय बन्द गरेर बाहिर जाँदा ढोका, झ्याल र ताल्चा राम्रोसँग बन्द गर्न, सम्भव भएसम्म सीसीटीभी जडान गर्न र अपरिचित तथा शंकास्पद व्यक्तिका गतिविधिप्रति सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, ठगी र साइबर अपराधबाट जोगिनसमेत आग्रह गरिएको छ ।

प्रहरीले जुवातास, लागुऔषध कारोबार तथा सेवनलगायतका गैरकानुनी गतिविधिमा संलग्न नहुन सचेत गराएको छ । कुनै शंकास्पद व्यक्ति, झैँझगडा, चोरी वा आपराधिक घटना भएको वा हुन सक्ने जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरी कन्ट्रोल नम्बर १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीको आग्रह छ ।

 

प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार