२०८३ जेठ ९ , शनिबार (2026 May 23, Saturday)

नयाँ प्रहरी इञ्चार्जद्वारा सुझाव संकलन



दैलेख – दैलेखका नयाँ प्रहरी इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जिल्लाको समग्र सुरक्षा अवस्था, चुनौती र सम्भावित समाधानका विषयमा सरोकारवालासँग सुझाव संकलन गर्नुभएको छ । उहाँले दैलेखमा जिम्मेवारी सम्हालेपछि सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने उद्देश्यले यस्तो पहल गरिएको बताउनुभयो ।

शुक्रबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्रकारहरूसँग भएको परिचयात्मक कार्यक्रममा डीएसपी बिकले जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी विषयमा छलफल गर्नुभयो। सो अवसरमा पत्रकारहरूले जिल्लामा देखिएका सुरक्षा समस्या र सुधारका विषयमा सुझाव दिएका थिए ।

त्यसपछि दिउँसो जिल्ला प्रहरी कार्यालयमा राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाज संस्थासँग पनि परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले जिल्लाको सुरक्षा अवस्था, सामाजिक चुनौती र समन्वयात्मक प्रहरी–समुदाय सम्बन्धबारे धारणा राखेका थिए ।

परिचयात्मक कार्यक्रममा बोल्दै डीएसपी बिकले जिल्लाको सुरक्षा चुनौतीलाई पहिचान गरी सबै सरोकारवालासँग सहकार्य गरेर समाधान खोजिने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रहरी–नागरिक सहकार्यलाई अझ सुदृढ बनाउँदै शान्ति–सुरक्षा कायम राख्ने लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार