काठमाण्डौं – लगातारको वर्षापछि आएको बाढी, पहिरो र सडक कटानले देशका विभिन्न भागको सडक सञ्जाल प्रभावित भएको छ । मुख्य राजमार्गदेखि स्थानीय सडकसम्म यातायात अवरुद्ध भएपछि कतिपय क्षेत्रमा वैकल्पिक मार्ग र समय तोकेर सवारी सञ्चालन गर्न थालिएको छ ।
धादिङको कृष्णभीर, बेनीघाट रोराङ र गजुरी तथा तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरामा पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको छ । बीपी राजमार्गको काभ्रेको चारसयवेशी र गिम्दीवेशीमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ । जोखिमका कारण काभ्रे र सिन्धुलीमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ ।
काठमाडौं जोड्ने अरनिको राजमार्गको धुलिखेल–पकुचा र कान्ति लोकपथको टाकुर्चे तथा पाङदुरडोलमा पहिरो र लेदोका कारण आवागमन ठप्प छ । त्रिभुवन राजपथमा भने सवारीको चाप र सडकको अवस्थालाई ध्यानमा राखेर निश्चित समय तोकिएको छ । १० चक्काभन्दा ठूला तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई इन्धन र ग्यासबाहेक सञ्चालनमा रोक लगाइएको छ ।
टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकमा पहिरोका कारण यातायात बन्द छ । रसुवाको उत्तरगयामा त्रिशूली नदीको कटान र बाढीले पासाङ ल्हामु राजमार्ग क्षतिग्रस्त भएपछि स्याफ्रुबेँसीतर्फ जाने सवारीलाई वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न भनिएको छ ।
पूर्वी नेपालमा सिद्धिचरण लोकमार्गको ओखलढुङ्गास्थित भँडारे खोलामा लेदो बाढीले सडक क्षति गरेको छ । ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका विभिन्न सडकमा पनि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ ।
गण्डकीतर्फ स्याङ्जाको तिनधारे, बागलुङको निसिखोला–कानाबगर र पर्वतको तमादी खोलामा पहिरोले सडक बन्द गरेको छ । बेँसीसहर–मनाङ सडकको खरखरे भिर र खोत्रोमा पहिरो खसेपछि यातायात रोकिएको छ भने मनाङमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रीकालीन सवारीमा प्रतिबन्ध लगाइएको छ ।
बेनी–जोमसोम सडकको बैसरी र सुकेबगर तथा जोमसोम–कोरला सडकको कालोभिर र सेल्फीडाँडामा पहिरो र लेदोका कारण आवागमन प्रभावित भएको छ । कास्की, मुस्ताङ र म्याग्दीमा पनि रातिको समयमा सवारी सञ्चालन रोकिएको छ ।
वर्षाका कारण सडक तथा पुलको अवस्था जुनसुकै बेला जोखिमपूर्ण बन्नसक्ने भएकाले सम्बन्धित निकायले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेका छन् । यात्रा गर्नैपरे सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्