२०८३ कात्तिक २२ , शनिबार (2026 Nov 7, Saturday)

तिहारमा माैसम सफा रहने



काठमाण्डौं – तिहारको समयमा देशभर ठूलो वर्षा नहुने अर्थात माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हिमाली क्षेत्रका केही स्थानमा छिटपुट हिमपात भइहाले पनि समग्रमा माैसम सफा रहने विभागकी मौसमविद् निष्ठा निरौलाले बताउनुभयाे ।

आगामी बिहीबारसम्म तराईका १० देखि ३० प्रतिशत भूभागमा बिहान हुस्सु लाग्ने सम्भावना रहे पनि वर्षाको पूर्वानुमान छैन । पहाडी क्षेत्रका करिब १० प्रतिशत भूभागमा मात्रै हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा शनिबारसम्म केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ । आइतबारदेखि बिहीबारसम्म भने यी प्रदेशका एक–दुई स्थानमा मात्रै यस्तो सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आगामी बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने मौसमविद् निरौलाले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार