२०८२ फागुन ८ , शुक्रबार (2026 Feb 20, Friday)
प्रतिनिधिसभा निर्वाचन २०८२
१३ दिन बाँकी

शिवरात्रि र गाँजा : परम्परा कि भ्रम ?



महाशिवरात्रि हिन्दू धर्ममा अत्यन्त श्रद्धा र आस्थासाथ मनाइने पर्व हो । हिन्दू पञ्चाङ्गअनुसार हरेक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिन महाशिवरात्रि मनाइन्छ । भगवान शिवको आराधना, उपवास, जप, ध्यान र आत्मशुद्धिको अभ्यासमार्फत यो दिनलाई आध्यात्मिक उन्नतिको अवसरका रूपमा लिइन्छ । तर पछिल्ला वर्षहरूमा विशेषगरी युवापुस्तामाझ एउटा धारणा तीव्र रूपमा फैलिएको देखिन्छ कि शिवरात्रि भनेकै गाँजाको पर्व हो र गाँजा भगवान शिवको प्रसाद भएकाले यस दिन सेवन गर्नै पर्छ मान्यता विकास भएकाे छ । सामाजिक सञ्जाल, साथीहरूको दबाब र आधा अधूरा धार्मिक कथनहरूले यो सोचलाई अझ बलियो बनाइरहेका छन् ।

अब प्रश्न उठ्छ के साँच्चै शिवरात्रिको सार गाँजामा सीमित छ, कि हामीले परम्पराको नाममा भ्रमलाई अंगालिरहेका छौँ ? ‘शिव’ अर्थात् कल्याण र ‘रात्रि’ अर्थात् अज्ञानको अन्धकार । यस अर्थमा शिवरात्रि भनेको अज्ञान माथि ज्ञानको विजयको प्रतीक हो । धार्मिक मान्यताअनुसार यसै रात भगवान शिवले सृष्टि, स्थिति र संहारको प्रतीक ताण्डव नृत्य गर्नुभएको थियो । अर्को विश्वासअनुसार यसै दिन उहाँको पार्वतीसँग दिव्य विवाह सम्पन्न भएको थियो । त्यसैले शिवरात्रि शक्ति र शिवको एकत्व, अन्धकारमाथि ज्ञानको विजय तथा आत्मसंयम र आध्यात्मिक जागरणको प्रतीक पर्वका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । शिवलाई ‘महादेव’ भनिन्छ-देवताहरूका पनि देवता । उहाँ योगका आदि गुरु, तपस्याका प्रतीक र वैराग्यका आदर्श मानिनुहुन्छ । यदि हामीले शिवको जीवन दर्शनलाई नियाल्ने हो भने उहाँको सम्पूर्ण अस्तित्व नै संयम, धैर्य र आत्मनियन्त्रणमा आधारित देखिन्छ । त्यसैले शिवरात्रि कुनै बाह्य प्रदर्शन होइन यो भित्री अनुशासनको पर्व हो ।

धेरैले तर्क गर्छन् कि शिवले भाङ गाँजा सेवन गर्नुहुन्थ्यो, त्यसैले शिवरात्रिमा गाँजा खानु प्रसाद ग्रहण गर्नु हो। तर शास्त्रीय दृष्टिले यस्तो तर्क ठ्याक्कै मिल्दैन । प्राचीन वेद, उपनिषद् र प्रमुख पुराणहरूमा शिवलाई नियमित रूपमा नशा सेवन गर्ने देवता भनेर स्पष्ट रूपमा उल्लेख गरिएको पाइँदैन । कतिपय लोककथामा विषपान गरेपछि भाङ प्रयोग गरेको प्रसंग भने छन्, तर यसलाई अनिवार्य धार्मिक कर्मका रूपमा व्याख्या गरिएको छैन । शिवको जीवनशैलीमा आत्मसंयम, तपस्या, ध्यान र चेतनाको शुद्धता मुख्य मूल्य हुन्। शिवरात्रि पनि चेतनाको उत्थान, अहंकारमाथि आत्मबोध र अज्ञानमाथि ज्ञानको विजयको अवसर हो । त्यसैले, शिवरात्रि गाँजाको पर्व होइन , आत्मजागरणको पर्व हो । शिवजीको साधना सरलता र सकारात्मकतामा छ गाँजामा हुँदैहाेइन । विकृति र विस‌ंगति हाे ।

आजको युवा पुस्ता सामाजिक सञ्जालको महासागरमा बाँचेको छ। महाशिवरात्रि नजिकिँदै गर्दा शिवको नाममा खानु पर्छ भन्ने आशयले गाँजा सेवन गरी बनाइएका music video, reels र shorts ले छोटो समयमै मनग्य भ्युज पाउँछन् र खानुपर्छ नै भन्ने किसिमको छाप छोड्छन् । यसरी बाहिरी प्रदर्शन र क्षणिक उत्साहले वास्तविक धार्मिक श्रद्धालाई छायाँमा पारिदिन्छ। शिवरात्रिको आध्यात्मिक महत्व, आत्मसंयम र साधनाको सन्देश ओझेलमा पर्दै जान्छ, र त्यसको सट्टा नशालाई सामान्य वा अनिवार्य जस्तो प्रस्तुत गरिन्छ। यस्तो प्रवृत्तिले युवामा रहरले सुरु भएको सुरु भएको नशा सेवनलाई बिस्तारै नियमित बानीमा रूपान्तरण गर्न सक्छ, जसले अन्ततः डरलाग्दो परिणाम निम्त्याउन सक्छ। यसरी हेर्दा आज शिवरात्रि नै कतिपय युवाका लागि
लागूपदार्थ दुर्व्यसनमा फस्ने बहाना बन्न पुगेको देखिन्छ।

परम्परा भनेको पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अभ्यास हो र यसले समाजको पहिचान र संस्कृतिमा निरन्तरता कायम राख्छ। तर सबै परम्परालाई अटुटरूपमा अपनाउनुपर्छ भन्ने छैन । प्रत्येक अभ्यासको समयसापेक्ष समीक्षा गर्न आवश्यक छ । यदि कुनै अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्छ भने त्यसलाई संरक्षण गर्नु पर्छ । तर स्वास्थ्य, परिवार वा सामाजिक संरचनामा नकारात्मक असर पार्ने अभ्यासको पुनर्विचार गर्न जरुरी हुन्छ। चिकित्सकहरूले लागूपदार्थ सेवनका स्वास्थ्यसम्बन्धी असरहरूबारे चेतावनी दिएका छन् जसमा स्मरणशक्ति कमजोर हुनु, मानसिक स्वास्थ्यमा असर, र लत लाग्ने सम्भावना समावेश छ। त्यसैले यदि हामी शिवरात्रिको नाममा युवाहरूलाई लागूपदार्थ सेवन गर्न उक्साइरहेका छौँ भने, त्यो परम्पराको संरक्षण होइन, भ्रमको विस्तार हो ।

शिवरात्रि जस्तो पवित्र पर्वमा मन्दिर वरपर र सार्वजनिक स्थलहरूमा गाँजाको खुलेर सेवन हुनुले विशेषगरी बालबालिका र किशोरहरूमा गहिरो प्रभाव पार्न सक्छ । युवा मानसिकतामा धर्म र नशालाई एउटै सन्दर्भमा हेर्ने बानी बस्छ, जसले गर्दा उनीहरूको धर्मप्रतिको धारणा विकृत हुन सक्छ। जब श्रद्धा, भक्ति र अनुशासनको सट्टा नशा र भ्रमित मानसिकताले प्राथमिकता पाउँछ, तब पर्वको वास्तविक अर्थ हराउन थाल्छ। दीर्घकालीन रूपमा यसले हाम्रो संस्कृतिको छवि मात्र कमजोर पार्दैन, सामाजिक जिम्मेवारी, पारिवारिक मूल्य र व्यक्तिगत नैतिकतामा समेत गहिरो असर पुर्याउँछ। यस्तै परिस्थितिमा, पवित्र पर्वलाई नशाको बहानामा अनुभव गर्नुले आध्यात्मिक लाभमा कमी ल्याउँछ र सामाजिक चेतना, अनुशासन तथा परिवारभित्रको सम्मानजन्य व्यवहारलाई कमजोर बनाउँछ। यसरी, पर्वको सार, श्रद्धा र अनुशासनलाई बचाएर मनाउन नसक्दा आध्यात्मिक विकासमा कमी आउने मात्र नभई समाजमा पनि अनुशासन, संस्कार र सांस्कृतिक मूल्यहरूको अपमान हुन्छ।

यस समस्याको समाधान केवल प्रतिबन्धमा सीमित हुनु नभई चेतना र बुझाइमा आधारित हुनुपर्छ। विद्यालय, परिवार र समाजले युवा पुस्तालाई शिवरात्रिको वास्तविक मर्म र आध्यात्मिक महत्वबारे स्पष्ट र सरल सन्देश दिनुपर्छ। धार्मिक प्रवचन र सञ्चार माध्यमले पनि केवल मनोरञ्जन वा परम्परागत अभ्यासमा सीमित नरही, संयम, साधना र आध्यात्मिक अनुशासनको पक्षलाई प्राथमिकता दिनु आवश्यक छ। साथै युवाहरूले आफूले ग्रहण गर्ने परम्परा र अभ्यासको अर्थबारे जिज्ञासा राख्न, प्रश्न गर्न र सोच्न सिक्नु अनिवार्य छ, ताकि उनीहरू आस्थामा मात्रै नभई विवेक र चेतनामा आधारित जीवन पथ रोज्न सकून् ।

साँचो श्रद्धा आदर्शबाट प्रेरित भई आफ्नो जीवनमा सुधार र विवेकको अभ्यास गर्नु हो । संयम, आत्मनियन्त्रण र चेतनाको मार्ग अपनाउन सके मात्र हामीले शिवरात्रिको वास्तविक अर्थ पाउन सक्छौं। अन्ततः शिवजी हामी भित्रै हुनुहुन्छ चेतना, संयम, र आत्मनियन्त्रणको रूपमा । त्यसलाई जोगाउने प्रयास सधैं गर्नुहोस्। भ्रमलाई चिर्दै विवेकपूर्ण र संयमित भएर शिवरात्रि मनाउनुहोस्। शिवजीको आशीर्वाद अनन्तसम्म रहोस्। शिवजीको आशीर्वादले तपाईंको जीवन सधैं सहज, सरल, उज्यालो र सुखद बनोस्। शिवरात्रिकाे सबैलाई शुभकामना !

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार