२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

मन्त्र नगरेको धागो



१७ वर्ष अघि ०६५ साउन ३२ गते रक्षा बन्धनका दिन दलितहरुलाई समेत रक्षा बन्धनको धागो बाँध्ने प्रवन्ध मिलाइएको थियो । रक्षा बन्धन बाँधी दिने पण्डित त्यतिबेला सदरमुकामको त्रिभुवन उमावि प्रवेशद्वार अगाडि जोतिष पसल गरेका भवानीप्रसाद शर्मालाई ३–४ दिन पहिलेदेखि आग्रह गरेको थियौं, उनी सहमत पनि थिए । धेरै पृष्ठभूमी बाँधेर आग्रह गरेपछि मात्र उनी सहमत थिए तर के पो आउँदैनन् कि भनेर नियमित सम्पर्क बनाई राखेकोमा त्यही दिन विहान ८ बजे एक्कासी पसल बन्द गरी हिडेछन्, मोवाइल पनि स्वीचअफ !

उनकै सल्लाहमा सदरमुकामको लोकतान्त्रिक चोकमा सार्वजनिक कार्यक्रम गर्ने गरी ब्यानर समेत लेखाई सकिएको थियो । दलितहरुको भेला पार्ने जिम्मा भएका साथीहरु त्यसमा जुटेका थिए, पण्डित ल्याउने मेरो जिम्मा थियो । पण्डित भागेको खवर गरुँ, कार्यक्रम विथोलिने आई लाग्यो । विकल्प केही भइहाल्ला भनेर विहान ९ बजेतिर नयाँबजारतिरबाट पुगेकै बेला नारायण मन्दिरतिरबाट आउँदै गरेका काँग्रेस नेता पण्डित तिलकप्रसाद रिजालसंग लोकतान्त्रिकचोकमै भेट भयो । उनलाई देख्ने वित्तिकै रक्षा बन्धन बाँध्न लगाउन सकिन्छ होला भन्ने दरिलो विकल्प र मनमा अठोट लिइसकेको थिएँ ।

सुरुमा नमस्कार गरें तर म रोकिइन उनीसंगै कदम मिलाएर नयाँ बजारतर्फ फर्किएँ । त्यस क्रममा त्यतिबेला भरखरै काँग्रेसले राष्ट्रपति जितेको र एमाओवादी–एमाले गठबन्धनको सरकारको विषयमा हिंडदै २ मीनेट जति राजनीतिक गफ भए भीम टेलर्स नजिक पुग्दा कुरा खोलें आज त रक्षा बन्धन दलितहरुलाई पण्डितहरुले धागो समेत बाँध्न इन्कार गर्छन् तपाईंको धारणा के भनेर सोधें । पत्रकारले सोधेको त्यसमाथि दलित अधिकारकर्मीले सोधेको कुरामा उनले सजगतापूर्वक जवाफ दिए “बेद, पुराण वा कुनै पनि धर्मग्रन्थमा विभेद गर्नुपर्छ भन्ने छैन दलितहरु पनि हिन्दू भएको बाँधिदिए हुन्छ ।” लोकतन्त्रको हिमायती पार्टीको जिल्ला कार्य समितिका सदस्य पण्डित रिजालले मेराे प्रश्नमा जवाफ अपूरो नहोस् भनेर होला यसलाई उनले प्रष्ट्याउदै गए ।

हिंड्दै भलाकुसारी चलिरहेको थियो अदालत अगाडि पुग्दा उनलाई मैंले अनुरोध गरें ‘आज तपाईले दलितहरुलाई रक्षा बन्धन बाँधिदिनू प¥यो ।’ प्रतिउत्तरमा उनले भने “बाँधीदिन्थें तर आज व्यस्त छु ।” मैंले फेरि विनय गरें ‘जसरी पनि समय निकाल्नु प¥यो आधा घण्टा मात्र ।’ उनले उम्कन धेरै प्रयास गरे पछ्याईरहें, बाल मन्दिर नजिक पुग्दा बासुदेव तिमल्सिनाको डेरा पस्नुछ भने, त्यहाँ पनि संगै गएँ । उनका माइती रहेछन्, बासुदेव र उनीको परिवारलाई धागो बाँधीदिए । मलाई पठाउने उद्देश्यले त्यहाँ करिव पौने घण्टा रोकिए तर मैंले छोडिन ।

बासुदेवको डेराबाट अगाडि मूलबाटोमा आई पुग्दा मलाई पठाउने उनले प्रयत्न गरेका थिए, मैंले भने काँग्रेस कोषाध्यक्ष हिक्मत बिश्वकर्मा, दलित संघका नेता मोहन सुनारलाई तपाईंलाई आउँदै हुनुहुन्छ भनेर म्यासेज गरी सकें भनेपछि नाई भन्न नसकेर भने “म डेरामा खाना खाएर आउँछु, तपाईं जानुस् ।” भवानी गुरु भागेजस्तै उनी पनि भाग्लान् भन्ने मनमा त्रास थियो मैंले मानिन, हुलाक नजिक उनको डेरामा संगै पुगें ।

उनकी श्रीमतिले मलाईं पनि खाना सोधिन्, खाना भन्दा ठूलो कुरा तिलक गुरुलाई धागो बाँध्ने कार्यक्रम लैजान लागेको कुरा खोलिदिएँ । त्यतिबेला विहानको साढे १० बतिसकेको थियो मैंले खाना खाएको त थिइन तर गुरुलाई लिएर गए पुग्छ भनें । तिलक गुरु खाना खाएपछि १ घण्टा सुत्ने बानी छ भनेर ओछ्यानमा पल्टिए, त्यतिबेला करिब ११ बजिसकेको थियो । कार्यक्रम स्थलमा व्यानर टाँगेर साथीहरु पर्खिरहेको मोवाइल एसएमएसबाट अपडेट गर्दै थिए ‘आउँछन् भने छिटो गर्नुस्, नहुने हो भने पनि टण्टा नगरौं ।’

यता तिलक गुरु खाना खाएर १५–२० मीनेट मात्र सुतेका थिए, मैंले अनुरोध गरें ‘आज चाहिं पूरा १ घण्टा सुत्न पाउनुहुन्न्, साथीहरुले कार्यक्रम सुरु गरी सक्नु भएको छ अव कार्यक्रमतिर जाम ।’ अभिव्यक्त नभएको भद्र दवावमा जान तयार भए त्यहाँ पुग्दा उनको भव्य स्वागत भयो । सामूहिक रक्षा बन्धन औपचारिक कार्यक्रमको तयारीमा जुटेका कमल विक, पार्वती बिशुन्के, कृष्ण बिक, सबिना बिश्वकर्मा, रेशम बिश्वकर्मा, पदम सुनार लगायतका साथीहरुले तयारी पूरा गरेका थिए । पण्डितको स्वागतपछि उनीलाई संक्षिप्त भाषण गर्न लगाइयो उनले भने “बेद, पुराण वा कुनै पनि धर्मग्रन्थमा विभेद गर्नुपर्छ भन्ने छैन दलितहरु पनि हिन्दू भएको बाँधिदिए हुन्छ । म समानताको पक्षधर पार्टी नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत भएकोले रक्षा बन्दन बाँध्न हिच्किचाउने कुरै भएन, त्यसैले रक्षा वन्धनको धागो बाँध्ने आएको छु ।”

भाषणपछि रक्षा वन्धनको धागो बाँध्न सुरु गर्दा धागो बाँधी माग्ने सबैलाई ‘मन खोलेर दान दिनू’ भनी कडकिए । दलितहरु दानदातव्यमा लोभ गर्दैन भन्ने थाहा नपाएका होइनन् फेरि पनि उनी कड्किएकै कारण सबैले सक्दो धेरै दान दिए, करिव १ घण्टा चलेको सामूहिक रक्षा बन्धन कार्यक्रममा करिब ६ हजार भन्दा बढी रकम जम्मा भयो, त्यो रकम सदरमुकामका रामबहादुर थापाले सञ्चालन गरेको अनाथालयलाई दिने घोषणा गरेर गए । दलित मात्र सहभागी सामूहिक रक्षा बन्धन कार्यक्रमबाट तिलक गुरु फर्किंदा दलित अगुवाहरुले हार्दिकतापूर्वक सम्मान गरेर पठाए ।

जिल्लाकै बरिष्ठ पण्डित तिलकप्रसाद रिजालले दलितलाई रक्षा वन्धन धागो बाँधेको कुरा स्थानीय रेडियो र पत्रपत्रिकाहरुले ठूलो महत्व दिएर समाचार प्रसारण तथा प्रकाशन गरे । तर त्यही दिन बेस्तडामा दलित स्वाबलम्वी समाजका कर्मचारी जनकलाल सुनार र बेस्तडा बजारका चन्द्रबहादुर बिकलाई दलित भएकै कारण रक्षा वन्धन धागो बाँध्दैन भनी तर्केको विषयमा साविककाे रुम गाविस–७  अर्थात् हाल भगवतीमाई गाउँपालिका-२ रुम गाउँका त्यतिबेला २२ वर्षका दिपक उपाध्याय विरुद्ध जातीय विभेदको मुद्दा अदालतमा पुग्यो । त्यो मुद्दा परेपछि जिल्लाभरका सबै ब्राम्हणहरुको एक भेला भयो, त्यो बेलाले ब्राम्हण संघ गठन ग¥यो । भेलामा पण्डित तिलकप्रसाद रिजालप्रति सबै पण्डितहरुले खनिएर आपत्ति जनाएछन् ‘तपाईले बाँध्नुथियो भने अब सबैले बाँध्नू भनीदिनू पर्दथ्याे । आफू दलितहरुको प्रियपात्र बन्ने, हामीलाई मुद्दा लगाउने तपाईंकै परपञ्च हो ।’ जवाफमा उनले भनेछन् ‘मन्त्र नगरेको धागो पो बाँधी दिएको हुँ ।’

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार