दैलेख – नेपाल सुनचाँदी व्यवसायी संघ दैलेख शाखाको आइतबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनबाट ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रामबहादुर विश्वकर्मा चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा दीपक सोनी, सचिवमा राजकुमार विश्वकर्मा, सहसचिवमा भूपेन्द्र सुनार र कोषाध्यक्षमा युवराज सुनार निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा कृष्णकुमारी बिक, गणेशबहादुर सुनार, चन्द्र बिक, नारायण सदाशंकर, विष्णुबहादुर सुनार र लालबहादुर बिक चयन हुनुभएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेपछि व्यवसायीहरूबीच आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक तथा नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । निर्वाचन समितिका सदस्यहरू नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक सोनी र प्रेस सेन्टर नेपाल दैलेखका अध्यक्ष तीर्थ भण्डारीले समेत सपथ ग्रहण कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।
सपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई खादा, माला र टीका लगाई सम्मान गरिएको थियो । निर्वाचन समितिका पदाधिकारीहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्न तथा संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउन भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष रामबहादुर विश्वकर्माले सम्पूर्ण व्यवसायीहरूलाई समेटेर संघको गरिमा उचो बनाउने, व्यवसायीहरूको समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने तथा सुनचाँदी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्