काठमाण्डौं – नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत पोस्टपेड र प्रिपेड ग्राहकका लागि नयाँ डेटा, भ्वाइस र एसएमएस प्याकेज सञ्चालनमा ल्याइएका छन् भने केही पुराना अफरलाई पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
पोस्टपेड माेवाइलमा ३० दिनका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ प्याक थपिएका छन् । यस्तै ६९९ रुपैयाँदेखि १ हजार ९९९ रुपैयाँसम्मका ‘सजिलो अनलिमिटेड पोस्टपेड’ प्याकमा मासिक ६० जीबीदेखि अनलिमिटेड डेटासम्म तथा अनलिमिटेड भ्वाइस कलको सुविधा उपलब्ध गराइएको छ । बढी डेटा प्रयोग गर्ने ग्राहकका लागि ५०० जीबी र अनलिमिटेड डेटा भएका विशेष प्याकसमेत समावेश गरिएको छ ।
प्रिपेड ग्राहकका लागि ९९ रुपैयाँमा ८ जीबी (१ दिन) र १९९ रुपैयाँमा २० जीबी (७ दिन) का नयाँ डेटा प्याक उपलब्ध गराइएको छ । साथै ९९९ रुपैयाँ र १ हजार ४९९ रुपैयाँका ‘सजिलो अनलिमिटेड’ प्याकमा मासिक ४५० जीबीदेखि ५०० जीबी डेटा, अनलिमिटेड भ्वाइस कल र एसएमएस सुविधा राखिएको छ ।
टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवामा पनि परिमार्जन गर्दै साउन १५ गतेदेखि सापटी रकम ३० रुपैयाँ कायम गर्ने जनाएको छ । उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डेटा, भ्वाइस तथा एसएमएस प्याक खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार ‘नमस्ते रिकरिङ’ सेवामा नयाँ प्याक थपिनुका साथै कर्पोरेट सीयूजी, एफटीटीएच र अन्य बन्डल्ड प्याकेजलाई पनि निरन्तरता दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्