२०८३ भदौ २५ , बिहीबार (2026 Sep 10, Thursday)

डेंगीबाट जोगिने सन्देश दिन लोक गीत प्रतियोगिता



दैलेख – नारायण नगरपालिकाले लामखुट्टेको टोकाईबाट सर्ने डेंगी लगायतका रोगबाट जोगिने उपाय बारे बिहीबार दैलेख सदरमुकाममा आयोजना गरेको सन्देशमूलक लोक गीत प्रतियोगिता महिला स्वास्थ्य स्वयमसेविका समूह प्रथम भएको छ । प्रथम भएर टोली नेता देवीसरा नेपालीले ६ हजार रुपैंयाँ पाउनुभयो ।

सन्देशमूलक लोक गीत प्रतियोगितामा गाईखुरे आमा समूहले दोश्रो स्थान हासिल गरी ५ हजार रुपैंयाँ, खुर्सानीबारी आमा समूह तेश्रो भएर ४ हजार रुपैंयाँ र सरस्वती स्वास्थ्य आमा समूहले सान्त्वना स्थान हासिल गरी ३ हजार रुपैंयाँ पुरस्कार पाएका छन् । यो पुरस्कार रासीमा सरकारी करकट्टी गरिएको थियो ।

नारायण नगरपालिकाले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बिहीबार नै जनचेतनामूलक र्‍याली निकालेको थियो । विश्व स्वास्थ्य संगठनको सहकार्यमा हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाइन्छ । सन् २००३ देखि अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवस मनाउन थालिएको हो ।

विश्व आत्महत्या रोकथाम दिवसले आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान, सहयोग र परामर्श उपलब्ध गराउन प्रेरित गर्छ । यसले मानसिक स्वास्थ्यबारे खुलेर संवाद गर्ने र सहयोग माग्न प्रोत्साहित गर्ने वातावरण निर्माणमा योगदान पुर्‍याउँछ ।

यो दिवसले आत्महत्या रोकथाममा परिवार, समुदाय, विद्यालय, स्वास्थ्य संस्था र राज्यको साझा जिम्मेवारी सम्झाउँछ । जोखिममा रहेका व्यक्तिप्रति सहानुभूति, सम्मान र सहयोग बढाउँदै जीवनप्रति सकारात्मक सोच विकास गर्न दिवसले महत्वपूर्ण सन्देश दिइरहेको छ ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार