२०८३ भदौ २५ , बिहीबार (2026 Sep 10, Thursday)

बालविवाह रोक्न डुङ्गेश्वरमा कार्ययोजना



दैलेख – बालविवाह, किशोरावस्थाको गर्भधारण र विद्यालय बीचमै छाड्ने समस्या रोक्न डुङ्गेश्वर गाउँपालिकाले नीति, योजना तथा अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउने भएको छ । डाँडापराजुलमा बिहीबार सम्पन्न कार्यशाला गोष्ठीले समस्याको पहिचान गरी रणनीतिक कार्ययोजना तयार गरेको हो ।

आइपास नेपाल र सोसेक नेपालको साझेदारीमा सञ्चालित ‘नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि उत्थानशील स्वास्थ्य प्रणाली परियोजना’ अन्तर्गत कार्यशाला आयोजना गरिएको हो । परियोजनाले सन् २०३० सम्म सीमान्तकृत महिला, बालबालिका तथा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारमा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले बालविवाह, किशोरावस्थाको गर्भधारण र विद्यालय छाड्ने समस्या न्यूनीकरणका लागि पालिकाले नीति तथा योजनालाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन गर्नुपर्ने आवश्यकता दर्शाउनुभयाे ।

डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले किशोर–किशोरीका समस्या पहिचान गरी उनीहरूलाई सजग गराउने, जीवन उपयोगी सीप र स्वास्थ्य सेवामा सहज पहुँचको व्यवस्था गर्न सके सामाजिक समस्या न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष प्रबलाल शर्माले बालविवाह र विद्यालय छाड्ने समस्या रोक्न घरपरिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । यसका लागि वडास्तरबाटै सचेतना र निगरानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यशालामा समस्याको पहिचान, किशोर–किशोरीलाई जीवन उपयोगी सीप, विद्यालयमा किशोरीमैत्री वातावरण तथा समुदायमा सचेतनाको आवश्यकताबारे सहजकर्ता जीवन देवकोटा र साेसेक नेपालका परियोजना जिल्ला संयोजक कविता केसीले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार