२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

व्यवसाय योजना तालिम अनि लगानी



दैलेख – गुराँस गाउँपालिका–२ सेरीबाडाकी ५२ वर्षीया तुलसी शाहीका तीन छोरी र एक छोरा छन् । १४ वर्ष अघि घर लिप्ने माटो खन्न लाग्दा माटो खानीमा पुरिएर घाइते हुँदा ढाड र शरीर सुस्त भयो, बोली रोकियो । बोली रोकिएकी तुलसी ५ दिने व्यवसाय सुरु तथा सुधार योजना तालिममा सहभागी हुनुहुन्थ्यो ।

एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको विकास परियोजनाद्वारा आयोजित तालिमकी सहजकर्ता सुनिता सोनी हातको हाउभाउबाट तुलसीलाई प्रष्ट्याउदै हुनुहुन्थ्यो । शुक्रबार सम्पन्न भएको तालिमका सहभागी १८ जना मध्ये चार जना सहभागी हातको हाउभाउबाट बुझाउनुपर्ने हुनुहुन्थ्यो ।

चार जना हातको हाउभाउबाट बुझाउनुपर्ने सहभागीका अलवा एक जना दृष्टिबिहीन र बाँकी १३ जना पनि कुनै न कुनै अपाङ्गता भएका व्यक्तिहरु तालिममा सहभागिता थियो । अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधारका लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारमा काम गरिरहेको विकास परियोजनाको निर्धारित योजना अनुसार तालिम सञ्चालन गरिएको सामाजिक परिचालक रेशम गिरीले जानकारी दिनुभयो ।

उद्यमशीलता र व्यवसायिक सोच, व्यवसायको पहिचान र योजना बनाउने तरिका, वित्तीय योजना र व्यवस्थापन, बजारिकरण, व्यवसाय दर्ता प्रक्रिया, स्थायी लेखा नम्बर, लाइसेन्स र अनुमतिहरूसंगै कर प्रणाली विषयमा ५ दिने त्यो तालिममा सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियो ।

उद्यमी विकास सहजकर्ताद्वय सुनिता सोनी र रोशनी थापा मगरले व्यवसाय सुरु तथा सुधार योजना तालिमका सहभागीहरुलाई गुणस्तरीय सेवा वा उत्पादन सुनिश्चिता, प्रभावकारी सञ्चार सीप तथा गुनासो व्यवस्थापन, हिसाब–किताब राख्ने तरिका, व्यवसाय मूल्यांकन गर्ने तरिका र दीर्घकालीन योजना बनाउने तरिका समेत सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

बोल्न नसक्नेहरुलाई पनि हाउभाउमै गज्जबले कुरा गर्नुहुदो रैछ भन्ने हाम्रो प्रश्नमा तालिम श्रोत व्यक्ति उद्यमी विकास सहजकर्ता सुनिता सोनीले भन्नुभयो ‘तालिमभित्र नै व्यवसायिक दक्षताका लागि प्रभावकारी सञ्चार सीप चाहिन्छ भनेर सिकाउन आएको हामी सहजकर्ताहरुले हाउभाउ त जान्नै प¥यो ।’ उहाँले थप्नुभयो ‘तब पो सबैलाई सहजै बुझाउन सकिन्छ ।’

अर्की सहजकर्ता रोशनी थापाले भन्नुभयो ‘हामीले पनि सकभर रामरी सिकाउने प्रयास ग¥यौं, सबै सहभागीहरुले इच्छाशक्तिका साथ सहभागी हुनु भएकोले तालिम सिक्ने र सिकाउनेहरु दुबैका लागि रुचीकर भयो ।’ आवश्यकताको आधारमा संस्थाले छनौट गरेका सहभागीहरुलाई निकट भविष्यमा सञ्चालन गर्ने व्यवसायका लागि सहयोग पुग्ने आफूले विश्वास लिएको उहाँले बताउनुभयो ।

१२ वर्ष अघि ऊ बेला सात कक्षा पढ्दै गरेको १२ वर्षको कान्छो छोरा धिरज घाँस काट्न लाग्दा रुखबाट खसेर टाउकोमा गम्भीर  चोट लागेपछि बोल्न नसक्ने अहिले २४ वर्षको छोराको संरक्षक ४५ वर्षीया सहभागी लक्ष्मी सुनारले आमदानी र खर्चको लेखाजोखा राख्ने ज्ञान पाएको यसले नाफा वा घाटा हिसा गर्न सिकेको बताउनुभयो ।

अहिले ७० वर्ष पुगेका गुराँस गापा–१ बेडुका दलबहादुर पुन ६–७ वर्षको छँदा डण्डीबियो खेल्दै गर्दा गहिरो चोट लागेर दाहिने आँखा सधैंका लागि गुमाउनुभएको छ । एउटा आँखाको भरोसामा दैनिक चलाउनुभएका उहाँका लागि पनि तालिम व्यवसायिक योजना सीप उपयोग ज्ञान पाएको सुनाउनुभयो ।

६२ वर्षीय हर्कबहादुर रावल गुराँस गापा–२ सेरीबाडाका बासिन्दा हुनुहुन्छ, उहाँ जन्मजात देब्रे खुट्टा कुजिएको अवस्थामा भए पनि एभरेष्ट क्लवले यो तालिम र यस अघिका उत्प्रेरणा कक्षाले हौसला दिएको भन्दै खुशी प्रकट गर्नुभयो ।

गुराँस गापा–१ पातलखोलाकी ५२ वर्षीया रुद्रकली बिक तीन महिनाकी छँदा देब्रे हात पोलिएर अपाङ्गता समस्या झेल्दै आउनुभएको छ । तीन छोरा विवाह गरेर छुट्टिएर बसेका छन्, एउटी छोरी पनि विवाह भई गएपछि श्रीमानश्रीमती मात्र बस्तै आउनुभएको छ । संस्थाको तालिमपछि स्थानीय संभावना भएको बाख्रा पालन व्यवसायमा समय दिने योजना सुनाउनुभयो ।

विकास परियोजनाका कार्यक्रम संयोजक सेतलाल डाँगीले परियोजनाको कार्यक्षेत्र सिमाना जोडिएका डुंगेश्वर र गुराँस गाउँपालिका क्षेत्रका १५९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसाय सुरु तथा सुधार योजना तालिमपछि व्यवसाय सञ्चालन अनुदान सहयाेगबाट लाभग्राहीहरु उपार्जनका काममा जुटेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार