२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

पोषणमैत्री शासनको साझा प्रतिबद्धता 



दैलेख — स्थानीय तहका नीति, योजना तथा कार्यक्रमलाई पोषणमैत्री बनाउँदै कुपोषण न्यूनीकरण र खाद्य तथा पोषण सुरक्षालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ सञ्चालित दुईदिने पोषणमैत्री स्थानीय शासन कार्यशाला म‌ंगलबार दैलेख सदरमुकाममा सम्पन्न भएको छ । कार्यशालामा स्थानीय तहहरुले पोषणमैत्री शासनको साझा प्रतिबद्धता जनाएका छन् ।

कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा आईडीई र केयर नेपालको सहकार्यमा सञ्चालित तेस्रो चरणको बहुक्षेत्रीय पोषण परियोजनाअन्तर्गत एभरेष्ट क्लब दैलेखको समन्वयमा आयोजित कार्यशालामा जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा पोषणलाई स्वास्थ्य क्षेत्रको सीमित विषयका रूपमा नभई शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ, सामाजिक विकास र स्थानीय शासनसँग प्रत्यक्ष जोडिएको बहुआयामिक मुद्दाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो । स्थानीय तहले बनाउने नीति, योजना र बजेटमा पोषणका सवाललाई समेटेर कार्यान्वयन गर्न सके मात्रै दिगो रूपमा कुपोषण न्यूनीकरण गर्न सकिने निष्कर्ष सहभागीहरूले व्यक्त गरेका छन् ।

उद्घाटन सत्रमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थामा सुधार ल्याउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो। उहाँले पोषणलाई समग्र विकाससँग जोडेर बहुक्षेत्रीय समन्वयका आधारमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

त्यस्तै, आयोगका सदस्य अशाेकनाथ योगीले पोषणमैत्री स्थानीय शासनको अवधारणाले स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म पोषणका विषयलाई मूलप्रवाहीकरण गर्न सहयोग पुग्ने धारणा राख्नुभएको थियो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले साझा प्रयास र बहुक्षेत्रीय समन्वयबिनाको अभियानबाट कुपोषण अन्त्य सम्भव नहुने उल्लेख गर्दै स्थानीय तहहरूलाई पोषणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा पोषणको अवस्था र चुनौती, पोषण सुधारमा स्थानीय सरकारको भूमिका, पोषणमैत्री स्थानीय शासनका सूचक तथा कार्यान्वयन प्रक्रियालगायतका विषयमा छलफल तथा सहजीकरण गरिएको थियो। बिश्वरमन न्यौपाने, कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय अधिकृत गोपाल केसी तथा स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार