२०८१ पुस १० , बुधबार (2024 Dec 25, Wednesday)

भैरबीमा पालिकास्तरको हुलाक कार्यालय स्थापना



दैलेख – जिल्ला हुलाक कार्यालय दैलेखले भैरबी गाउँपालिकामा पालिका स्तरको हुलाक कार्यालय स्थापना गरिएको छ । आज एक औपचारिक कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही, उपाध्यक्ष देबी भण्डारी र हुलाक अधिकृत निर्मला थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष शाहीले कम्प्यूटर र हातहातमा मोबाइलले सञ्चार सहज बनाए पनि कतिपय सरकारी कागजपत्रहरु आदानप्रदान गर्न हुलाकको उपायोगिता अझैं रहेको उल्लेख गर्दै हुलाक कार्यालयलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

त्यसबखत हुलाक अधिकृत निर्मला थापाले हुलाकलाई चिठ्ठीपत्र आदानप्रदान गर्ने बाहेक कम्प्यूटर प्रविधिसंग जोडेर सञ्चार सम्बाहकको काम थालिएको जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, भैरबी गाउँपालिका प्रशासकीय अधिकृत भूपेन्द्र थापा र स्थानीयहरुको पनि सहभागिता थियो ।

भैरबी गाउँपालिकामा पालिका स्तरको हुलाक कार्यालय स्थापनासंगै १५० औं विश्व हुलाक दिवस पनि मनाइएको छ । सन् १८७४ अक्टोवरदेखि यो दिवस मनाउन थालिएको हो । हुलाकको इतिहासलाई केलाउदा बेलायती राजा चाल्र्स द्घितीयले सन् १६६० मा सुरुवात गरेका खुलेको छ ।

नेपालमा एक सय ८९ वर्ष अघिदेखि देशभित्र हुलाक सेवा सुरु भएको मानिन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सेवाको सदस्यता लिएपछि नेपालबाट विदेश पठाउन र विदेशबाट नेपालमा आउने गरी चिठ्ठी र हुलाकबस्तु आदानप्रदान हुन थालेका हुन् ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधबार