
कतार – मध्यपूर्वमा तनाव कम गर्न कूटनीतिक प्रयास भइरहेका बेला यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा आक्रमण गरेको छ । कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार राजधानी सानासहितका क्षेत्रमा आक्रमण गरिएको हो ।
हुथी समूहले साउदी अरबको रियाद विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेपछि गठबन्धनले जवाफी कारबाही गरेको हो । यस घटनाले क्षेत्रीय तनाव थप चर्किने आशङ्का बढाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने सम्भावना नरहेको बताउनुभएको छ । इरानमाथि तत्काल आक्रमण नगर्ने उहाँको भनाइसँगै अमेरिका र इरानबीच सम्भावित टकराव रोक्ने कूटनीतिक प्रयास भइरहेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघच्चीले अमेरिका र इजरायलले पुनः आक्रमण गरे पनि त्यसबाट विगतको भन्दा फरक परिणाम नआउने बताउनुभएको छ । क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले कतारका मध्यस्थकर्ताहरू तेहरान पुगेका बेला उहाँको यस्तो भनाइ आएको हो ।
मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य गतिविधि जारी रहँदा इरान र अमेरिकाबीचको सम्भावित द्वन्द्व रोक्न तथा क्षेत्रीय सङ्घर्ष थप फैलिन नदिन कूटनीतिक पहल भइरहेका छन् । यमनमा भएको पछिल्लो आक्रमणले ती प्रयास थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्