२०८३ साउन ३० , शनिबार (2026 Aug 15, Saturday)

 इन्डोनेसियामा ठूलो भूकम्प !



इन्डोनेसिया – इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा शनिबार बिहान गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ठूलो संख्यामा नागरिक सुरक्षित स्थानतर्फ सारिएका छन् । भूकम्पपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानमा जान निर्देशन दिइएको थियो ।

भूकम्पपछि केही क्षेत्रमा घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ । अस्पतालबाट समेत बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । नगेकेओ क्षेत्रमा मात्रै करिब दुई हजार मानिस सुरक्षित स्थानमा पुगेका छन् । भूकम्पपछि शक्तिशाली परकम्पहरू समेत महसुस भएका छन् ।

भूकम्पको केही समयपछि जारी गरिएको सुनामी चेतावनी करिब तीन घण्टापछि हटाइएको छ । विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी छाल रेकर्ड गरिएको विवरण आएको छ । भूकम्पको धक्का पूर्वी तथा पश्चिमी नुसा तेङ्गारा र दक्षिण सुलावेसीलगायतका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट ज्यान गुमाउनेको संख्या २० पुगेको पछिल्लो विवरण छ भने केही व्यक्ति घाइते भएका छन् । भग्नावशेषमा फसेका व्यक्तिको खोजी तथा उद्धार जारी रहेको छ । इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्प र ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको देश हो ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार