
दैलेख – १४ वर्षअघि प्रेमिकाको हत्या गरी फरार रहेका दुल्लू नगरपालिका–१० गमौडीका ३२ वर्षीय डिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । दैलेख सदरमुकाममा लुकी बसेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्प राेकायले जानकारी दिनुभयाे ।
यौन सम्बन्धबाट गर्भवती भएकी १७ वर्षीया प्रेमिका सम्झना सुनारलाई जात नमिलेको भन्दै घरमा भित्र्याउन नचाहेर हत्या गरेको आरोपमा पीडित पक्षले डिलबहादुरविरुद्ध जाहेरी दिएको थियो । एसएलसी परीक्षाको तयारीमा रहेकी सम्झनाको २०६९ फागुन २५ गते राति गमौडीको मेला भन्ने स्थानमा हत्या गरिएको पीडित परिवारको भनाइ छ ।
घटनापछि गरिएको शव परीक्षणका क्रममा सम्झना चार महिनाको गर्भवती रहेको दैलेख जिल्ला अस्पतालको तत्कालीन शव परीक्षण प्रतिवेदनमा उल्लेख छ । घटनापछि भारतमा बस्दै आएका डिलबहादुर बेलाबेला लुकीछिपी सुर्खेत तथा छिमेकी गाउँमा पुगेर परिवारजनसँग भेटघाट गर्ने गरेका थिए ।
पछिल्लो पटक तीन साताअघि भैरबी गाउँपालिका–२ रावतकोटस्थित दिदीबहिनीको घरमा लुकी बसेको सूचना पाएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । त्यसपछि दैलेख सदरमुकाममा लुकी बसेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरिएको हो ।
मुख्य आरोपी डिलबहादुर भए पनि घटनामा अन्य दुई जना साथी समेत संलग्न रहेको आशंका रहेको भन्दै उनीहरू माथि समेत पूरक अनुसन्धान गर्न पीडित परिवारले प्रहरीसँग आग्रह गरेको छ । प्रहरीले पक्राउ परेका खड्का माथि अनुसन्धान अघि बढाएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्