२०८३ कात्तिक १५ , शनिबार (2026 Oct 31, Saturday)

स्वास्थ्य केन्द्र उद्घाटनकाे विवादमा गोली चल्याे



बारा – फेटा गाउँपालिकामा स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा विवाद हुँदा गोली चल्दा १६ वर्षीय आदित्य पासवान घाइते भएका छन् । उहाँको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताउनुभयो ।

गाउँपालिकाले शनिबार बिहान स्वास्थ्य केन्द्र उद्घाटनका लागि कार्यक्रम आयोजना गरेको थियो । दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा उद्घाटन गर्न बारा जाने कार्यक्रम थियो ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । त्यसपछि अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवाद बढ्दै झडप भएको थियो ।

झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । गोली लागेर पासवान घाइते भएको जनाइएको छ । यद्यपि, प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि गरेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार