२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

जग्गा विवादको झडपमा एकको मृत्यू



मृतक रामबहादुर हमाल 

दैलेख – जग्गा विवादमा झडप हुँदा दैलेखमा एक जनाको मृत्यू भएको छ । धारिलो हतियार प्रहारबाट घाइते भएका भैरबी गाउँपालिका–६ कुर्माकोटका ५१ वर्षीय रामबहादुर हमालको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

गएराति भैरबी गाउँपालिका–६ कुर्माकोटको ज्यामुडाँडामा भएको झडपमा घाइते रामबहादुर दैलेख जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि सुर्खेत पु¥याइएकामा आज दिउँसो मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले पहरेदारलाई जानकारी दिनुभयो ।

सामूहिक रुपमा आक्रमण गरी हत्या गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा घटनाका आरोपितहरु एकै घरका ४२ वर्षीय कुलबहादुर सिंह, उनकी श्रीमति ३८ वषीया मनिषा सिंह र कुलबहादुरका २२ वर्षीय छोरा सुरेन्द्र सिंहलाई प्रहरीले हिरासतमा राखिएकाे र घटनाकाे अनुसन्धान भइरहेकाे डीएसपी बरालले बताउनुभयाे ।

रामबहादुर हमालकाे फाइल फाेटाे 

मृतक रामबहादुर र हत्या आरोप लागेका कुलबहादुर सहोदर जेठान–जुवाई हुन् । कुलबहादुर १६ वर्ष अघि एक जना हुलाकीको हत्या कसूरमा २० वर्ष जन्मकैदमा आधा सजाय माफी पाएर दुई वर्ष अघि मात्र छुटेका थिए । कुलबहादुर कारागारमा भएको बेला उनकी श्रीमति मनिषा माइतीको संरक्षणमा थिइन् ।

महाबु गाउँपालिका–५ काँशिकाँध स्थायी ठेगाना भएका कुलबहादुर हुलाकी हत्यामा तोकिएको जन्मकैद मध्ये आधा सजाय माफी पाएपछि ससुराली गाउँ भैरबी गाउँपालिका–६ कुर्माकोटमा बसोबार गर्दै आएका थिए । यो घटनामा परिवारका तीन जना प्रहरी हिरासतमा परेपछि १९ वर्षकी छोरी र १७ वर्षको अर्को छोरा मात्र घरमा बचेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार