२०८३ असोज ३० , शुक्रबार (2026 Oct 16, Friday)

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी पुरस्कृत



दैलेख – ७१औँ प्रहरी दिवसका अवसरमा दैलेखमा उत्कृष्ट कार्य गर्ने ११ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । दिवसका अवसरमा प्रहरी सेवाको क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारजन तथा प्रहरीका काममा सहयोग पुर्‍याउँदै आएका पूर्व प्रहरी कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक सनतबहादुर बुढा, प्रहरी सहायक निरीक्षक जयबहादुर चदारा, विनय राना क्षेत्री र यज्ञप्रसाद पौडेल, प्रहरी हवल्दार आलोक घर्ती मगर, प्रहरी सहायक हवल्दार दिनेशकुमार चौधरी र मोहन वली, प्रहरी जवान भूपेन्द्र शाही, हरिकृष्ण कुमाइ र निरज परियार तथा प्रहरी कार्यालय सहयोगी भगवती बिक हुनुहुन्छ । उहाँहरूलाई  कुशल कार्यसम्पादनकाे  पुरस्कार दिइएकाे हो ।

प्रहरी सेवाका क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारतर्फ स्वर्गीय प्रहरी नायब निरीक्षक भक्तबहादुर जिसीकी श्रीमती तिला जिसी, स्वर्गीय प्रहरी सहायक निरीक्षक खगिराम सारुकी श्रीमती रीता सारु मगर, स्वर्गीय प्रहरी हवल्दार सूर्यबहादुर थापाकी श्रीमती बासमती थापा र स्वर्गीय प्रहरी हवल्दार रविन्द्र रानाकी श्रीमती घिउकुमारी रानालाई सम्मान गरिएको छ । त्यसैगरी पूर्व प्रहरी नायव निरीक्षक ७५ वर्षीय जेष्ठ नागरिक रुपनाथ याेगीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न र अपराध रोकथाम गर्न प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अपराधको स्वरूपमा आएको परिवर्तनसँगै प्रहरीको कार्यसम्पादन पनि प्रभावकारी, व्यावसायिक र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कानुनको प्रभावकारी कार्यान्वयनसँगै नागरिकको अधिकार र मर्यादाको सम्मान गर्नु प्रहरी सेवाको महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ थियो ।

शाहीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई राज्यका निकाय, नागरिक समाज र आम नागरिकको समेत भएको बताउनुभयो । शंकास्पद गतिविधिबारे समयमै जानकारी दिने, अनुसन्धानमा सहयोग गर्ने र कानुनको पालना गर्ने नागरिकको व्यवहारले अपराध रोकथाममा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी र नागरिकबीच विश्वास तथा सहकार्य बलियो बनाउन सके जिल्लामा सुरक्षित वातावरण निर्माण गर्न सहज हुने उहाँको धारणा थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक पुष्पराज रोकायले प्रहरी दिवस प्रहरी सेवामा समर्पित कर्मचारीको योगदान स्मरण गर्ने तथा जिम्मेवारीप्रति थप प्रतिबद्ध हुने अवसर भएको बताउनुभयो । शान्ति सुरक्षा कायम राख्न, अपराध रोकथाम गर्न र नागरिकलाई सहज सेवा प्रदान गर्न प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

रोकायले प्रहरीको काममा सहयोग पुर्‍याउँदै आएका सरकारी कार्यालय, स्थानीय तह, सेवाग्राही, नागरिक समाज तथा आम नागरिकप्रति आभार व्यक्त गर्नुभयो । जिल्लामा शान्ति सुरक्षा कायम राख्ने क्रममा विभिन्न निकाय र समुदायबाट प्राप्त सहयोगले प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा पनि अपराध नियन्त्रण, अनुसन्धान र नागरिकमैत्री सेवा प्रवाहका लागि निरन्तर सहकार्यको अपेक्षा राखेको उहाँले बताउनुभयो ।

प्रहरी दिवसका अवसरमा उत्कृष्ट कर्मचारीको योगदानको कदर गर्नुका साथै अमर प्रहरीका परिवारजनलाई सम्मान र पूर्व प्रहरी कर्मचारीको अनुभव तथा योगदानको स्मरण गरिएको छ । २०१२ असाेज ३१ गते नेपाल प्रहरी ऐन लागू भएकाे  स्मरणमा हरेक वर्ष असाेज अन्तिममा मनाइने प्रहरी दिवस कार्यक्रमले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुदृढ बनाउन अवसरका रुपमा लिइन्छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार