दैलेख – जिल्ला समन्वय समिति दैलेखको आयोजनामा अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालन भएका विकास गतिविधिको मंगलबार समीक्षा गरेको छ । दुई दिनसम्म चल्ने कार्यसूची रहे पनि प्रगति तथा समस्याहरुलाई संक्षेपीकरण गरेर मंगलबार नै सकिएकाे छ । २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुकाे अन्तिम समीक्षा कार्यक्रम भएकाेले यसलाई चासाेकाे रुपमा लिएका थिए ।
समीक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तह, कर्णाली प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा संघीय सरकारका निकायले सञ्चालन गरेका भौतिक विकास र सामाजिक परिवर्तनका कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो । विकास कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या, चुनौती र सिकाइका अभ्यासबारे समेत छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो ।
कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले प्रस्तुत प्रगति विवरणका आधारमा आयोजनास्थलमा सन्तोषजनक काम नभएको टिप्पणी गर्नुभयो । उहाँले राज्यको स्रोतको सही सदुपयोगका लागि जनप्रतिनिधि, कर्मचारी संयन्त्र र नियमनकारी निकाय सक्रिय हुनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुले स्थानीय तहलाई दिइएको साधन, स्रोत र अधिकारअनुसार प्रभावकारी काम हुन नसकेको गुनासो गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य कृष्णकुमार बीसी, घनश्याम भण्डारी र इन्द्रा शाहीको सहभागिता थियो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको कार्यपालिका बैठक जुधेका कारण जनाएर समीक्षा कार्यक्रममा उक्त नगरपालिकाले आफ्नाे बेवास्ता प्रकट गरेकाे पाइयो । कांग्रेसका चारै जना प्रदेशसभा सदस्य सहभागी भए पनि एमालेका प्रदेशसभा सदस्य विनोदकुमार शाह र गमता विक तथा संघीय संसदका तीनै जना सांसद अनुपस्थित रहनुभयो ।










प्रतिक्रिया दिनुहोस्