२०८३ साउन ८ , शुक्रबार (2026 Jul 25, Saturday)

मानवअधिकार प्रवर्द्धनकमा युवा सहकार्यमा जाेड



दैलेख – मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार तथा युवाबीचको सहकार्य र समन्वय थप सुदृढ बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ग्रामीणमुखी युवा अभियान नेपाल राेयम नेपालले शुक्रबार नारायण नगरपालिका–१ मा आयोजना गरेको ‘युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालासँग समन्वयात्मक छलफल कार्यक्रम’मा यस्तो धारणा व्यक्त गरिएको हो ।

गैसस महासंघ, बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नागरिक समाज, मानवअधिकारकर्मी तथा युवा प्रतिनिधिको सहभागितामा युवा मानवअधिकार रक्षकको सुरक्षा, क्षमता विकास, डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य तथा प्रभावकारी समन्वयका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा राेयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष बिकले ‘युवा मानवअधिकार रक्षकको प्रवर्द्धन र संरक्षणका लागि एक्यवद्धता’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सहभागीहरूले डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य, बालविवाह, यौन हिंसा, लागूऔषध दुव्र्यसन, अनलाइन ठगी, वैदेशिक रोजगारी, घरेलु हिंसालगायत मानवअधिकारका सवालमा युवाले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । मानवअधिकारका विषयलाई नीति निर्माण तहसम्म पुर्‍याउन नियमित समन्वय, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

एभरेष्ट क्लवका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसीले कार्यक्रमको वास्तविक उपलब्धि र प्रभावको मूल्याङ्कन गर्दै परिणाममुखी कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो । छलफलले युवा मानवअधिकार रक्षक सञ्जाल र नागरिक समाज संगठनबीच नियमित समन्वय, दिगो नेटवर्क निर्माण, डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग तथा साझा कार्ययोजना कार्यान्वयनलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार