२०८३ जेठ १८ , सोमबार (2026 Jun 2, Tuesday)

दक्ष जनशक्ति व्यवस्थापनबारे अन्तरक्रिया



दैलेख – नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा दक्ष जनशक्ति व्यवस्थापन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम दैलेख सदरमुकाममा सम्पन्न भएको छ । उद्योग, व्यवसाय र श्रम बजारको वर्तमान आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन, व्यवस्थापन तथा सीपको औपचारिक मान्यताबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रियामा दैलेखको नौमूले गाउँपालिका र नारायण नगरपालिका क्षेत्रका उद्यमी, शिल्पकर्मी, रोजगारदाता तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूसहित ४० भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरूले स्थानीय स्तरमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका जनशक्ति अभाव, दक्ष कामदारको खोजी तथा सीपयुक्त श्रमिक उत्पादनका चुनौतीबारे अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशमा उद्योग तथा उद्यमशीलताको विस्तारसँगै दक्ष जनशक्तिको आवश्यकता झनै बढ्दै गएको बताउनुभयो। उहाँले स्थानीय स्रोत र साधनको उपयोग गरी उद्यम सञ्चालन गर्ने वातावरण बन्दै गए पनि आवश्यक सीप भएका कामदारको अभावले व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्नुभयो । उत्पादनशील क्षेत्रको विकास र रोजगारी सिर्जनाका लागि सीप विकासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले जिल्लामा साना तथा मझौला उद्यम विस्तार भइरहेका बेला दक्ष जनशक्तिको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको बताउनुभयो । स्थानीय स्तरमै आवश्यक सीप विकासका कार्यक्रम सञ्चालन गर्न सके युवाहरूलाई रोजगारी र उद्यमीहरूलाई दक्ष कामदार उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष यामबहादुर मल्लले व्यवसायको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता बढाउन सीपयुक्त जनशक्ति आवश्यक हुने धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालयका सहायक अधिकृत लोकराज लामिछानेले सीप विकास, सीपको स्तरीकरण तथा प्रमाणपत्रको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले औपचारिक प्रमाणपत्रले कामदारको क्षमता पहिचान गराउने मात्र नभई रोजगारीका अवसर विस्तार गर्न र श्रम बजारमा प्रतिस्पर्धी बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको नेपाल व्यावसायिक योग्यता प्रणाली (एनभीक्यूएस) कार्यालयका प्रदेश प्रबन्धक जनक सुवर्णकारले व्यावसायिक सीपको परीक्षण, प्रमाणीकरण तथा राष्ट्रिय योग्यता प्रणालीका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले अनौपचारिक रूपमा सीप हासिल गरेका व्यक्तिहरूले समेत परीक्षणमार्फत आफ्नो सीपको मान्यता प्राप्त गर्न सक्ने व्यवस्था रहेको जानकारी दिनुभयो । सीपको प्रमाणिकरणले श्रमिकको आत्मविश्वास बढाउनुका साथै रोजगार र स्वरोजगारका अवसर विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालयका सीप विकास संयोजक हृदयश केसीले सीप विकास कार्यक्रम, श्रम बजारको माग तथा दक्ष जनशक्ति उत्पादनका लागि महासंघले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले उद्योगी, व्यवसायी र सरोकारवाला निकायबीच समन्वय गरी बजारको आवश्यकता अनुरूप जनशक्ति उत्पादन गर्न सके मात्र उद्यम क्षेत्रको दिगो विकास सम्भव हुने बताउनुभयो ।

अन्तरक्रियामा सहभागी उद्यमी तथा रोजगारदाताहरूले स्थानीय आवश्यकतामा आधारित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने, सीप सिकेका युवालाई प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने तथा दक्ष जनशक्ति उत्पादनका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य थप सुदृढ गर्नुपर्ने सुझाव दिएका थिए ।  उनीहरूले स्थानीय तहसम्म सीप परीक्षण तथा प्रमाणीकरणका कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए । कार्यक्रमले सीप विकास, दक्ष जनशक्ति व्यवस्थापन र व्यावसायिक योग्यताको मान्यताबारे सहभागीहरूलाई जानकारी गराउनुका साथै उद्योग तथा व्यवसाय क्षेत्रको आवश्यकता र श्रम बजारबीचको सम्बन्धलाई थप स्पष्ट बनाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ १७ गते आइतबार