२०८३ असार ४ , बिहीबार (2026 Jun 18, Thursday)

गाउँटाेलमै माटो परीक्षण शिविर 



दैलेख  – भैरबी गाउँपालिकाले कृषि उपजमा सुधारकाे पहिचान गर्न गाउँटाेलमा पुगेर निःशुल्क माटो परीक्षण गरेको छ । गाउँपालिकाका सात वटै वडामा सञ्चालन गरिएको शिविरमा २१९ जना कृषकका ३९१ वटा माटोका नमुना परीक्षण गरिएको भैरबी गाउँपालिकाका कृषि शाखा प्रमुख पृतम थापाले बताउनुभयाे ।

गाउँपालिकाको कृषि शाखाका अनुसार कृषककै खेतबारीमा पुगेर माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था पहिचान गर्न माटाे परीक्षण गरिएको हाे । परीक्षणपछि कृषकहरूलाई आफ्नो जग्गाको माटोको अवस्था सुधार गर्न, खेती प्रणाली, मल-बीउकाे मात्र विषयमा सल्लाह दिइएको छ ।

परीक्षण गरिएका ३९१ नमुनामध्ये ३८२ वटा नमुनामा अम्लीयपन देखिएको कृषि शाखाले जनाएको छ। तीमध्ये १२१ वटा नमुनामा अम्लीयपनको समस्या बढी भएकाले तत्काल कृषि चुन प्रयोग गर्न सिफारिस गरिएको छ ।

माटो सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि चुन उपलब्ध गराइने भैरबी गाउँपालिकाका कृषि शाखा प्रमुख पृतम थापाले जानकारी दिनुभयाे ।  माटोको उर्वराशक्ति वृद्धि गर्न कोसेबाली (मास) को बीउ वितरण लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ ।

गाउँपालिकाले माटो परीक्षण मार्फत कृषकलाई आफ्नो जग्गाको वास्तविक अवस्था बुझ्न तथा आवश्यक पोषक तत्व व्यवस्थापन गर्न सहज भएको जनाएको छ । कृषि उत्पादनलाई दिगो र वैज्ञानिक बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार