२०८३ भदौ २५ , बिहीबार (2026 Sep 10, Thursday)

उद्योगमन्त्री यादवद्वारा राजीनामा



काठमाडौं – सङ्घीय सरकारकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहलाई भेटेर लिखित राजीनामा बुझाउनुभएको उहाँका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिनुभयो ।

मन्त्री यादवले भदौ २४ गते संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

अभिव्यक्तिबारे विवाद बढिरहेका बेला मन्त्री यादवले पदबाट राजीनामा दिनुभएको हो ।  गएकाे फागुन २१ गते भएकाे प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–४ बाट निर्वाचित हुनुभएको यादवलाई प्रधानमन्त्रीले वैशाख २७ गते उद्योगमन्त्री नियुक्त गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार