दैलेख – कर्णाली प्रदेशकै अग्रणी गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार दैलेख सदरमुकाममा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मुनाकुमारी थापाको अध्यक्षतामा भएको साधारणसभाको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले कृषकको उत्पादन, बजारीकरण र उद्यमशीलता प्रवर्द्धनमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्थानीय उत्पादन बढाउँदै किसानको आर्थिक अवस्था सुधारमा सहकारीले अझ प्रभावकारी काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष कमल शर्माले सहकारीले बचत तथा ऋणसँगै सदस्यको उत्पादनमूलक गतिविधि र उद्यम विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारीको पारदर्शिता, जवाफदेहिता र सदस्यको विश्वास संस्थाको दीर्घकालीन सफलताको आधार रहेको उहाँले जोड दिनुभयो ।
नारायण नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले सहकारीले स्थानीय आवश्यकता र सदस्यको आर्थिक अवस्थालाई केन्द्रमा राखेर कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो । उत्पादन, रोजगारी र आयआर्जनसँग जोडिएका योजनाले सहकारी तथा सदस्य दुवैलाई दिगो लाभ पुग्ने उहाँको भनाइ थियो ।
१२ सयभन्दा बढी सेयर सदस्य
गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडमा हाल १ हजार २२५ जना सेयर सदस्य रहेका छन् । संस्थाले सदस्यको बचत संकलन गरी कृषि तथा अन्य आयमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।
संस्थाका प्रवन्धक दिनेश थापाका अनुसार अघिल्लो आर्थिक वर्षमा सहकारीले ५ करोड ८१ लाख १८ हजार ३३६ रुपैयाँ निक्षेप संकलन गरेको थियो । अघिल्ला वर्षदेखि संकलित बचतसमेत परिचालन गरी ६ करोड ७६ लाख १७ हजार २५ रुपैयाँ लगानी गरिएको उनले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाले अघिल्लो आर्थिक वर्षमा २४ लाख ५१ हजार ७ सय ६० रुपैयाँ नाफा कमाएको प्रवन्धक थापाले जानकारी दिनुभयो । सहकारीले आगामी दिनमा सदस्यको आर्थिक तथा सामाजिक अवस्था सुधारसँगै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्