दैलेख – नारायण नगरपालिकाले बुधबार दैलेखमा बडादसैँको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दसैँको शुभकामना व्यक्त गर्दै सुशासन, सामाजिक सद्भाव र विकासका लागि साझा जिम्मेवारी आवश्यक रहेको धारणा राखेका छन् ।
कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सुशासन कायम गर्न जनप्रतिनिधि र कर्मचारी दुवै जिम्मेवार हुनुपर्ने बताउनुभयो । नागरिकले अनुभूति गर्ने गरी सार्वजनिक सेवा प्रवाह गर्नु, निर्णय प्रक्रियालाई पारदर्शी बनाउनु र विकासका काममा जवाफदेहिता सुनिश्चित गर्नु राज्यका निकायको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो ।
खत्रीले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय कमजोर हुँदा सेवा प्रवाह र विकास निर्माणमा अपेक्षित नतिजा हासिल गर्न कठिन हुने बताउनुभयो । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै नागरिकका गुनासा सम्बोधन गर्न सके मात्रै सार्वजनिक निकायप्रति जनविश्वास बढ्ने उल्लेख गर्दै उहाँले सुशासनका लागि जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाका पूर्वसांसद रविन्द्रराज शर्माले बडादसैँले पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक परम्परालाई बलियो बनाउने बताउनुभयो । पर्वको मौलिकता जोगाउँदै आपसी मनमुटाव हटाउने र समाजमा एकता कायम गर्ने अवसरका रूपमा दसैँलाई लिनुपर्ने उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले दसैँले आपसी सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने बताउनुभयो । जिल्लाको समग्र विकासका लागि स्थानीय तह, सरकारी निकाय, राजनीतिक दल र नागरिकबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले पर्वले सहकार्यको वातावरण थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बडादसैँले सामाजिक सद्भाव, आपसी भाइचारा र एकताको भावना बलियो बनाउने बताउनुभयो । पर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउँदै शान्ति सुरक्षा कायम राख्न तथा विपन्न र असहायलाई समेत खुसीमा सहभागी गराउन उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव रमेश केसीले दसैँले समाजमा आपसी सम्मान, सद्भाव र सकारात्मक सोच विकास गर्न सहयोग गर्ने बताउनुभयो । चाडपर्वलाई सामाजिक एकता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्दै नागरिकका अपेक्षा सम्बोधन गर्ने र सार्वजनिक हितका काममा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमाले दैलेखका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले बडादसैँ नेपाली समाजको सांस्कृतिक पहिचान र पारिवारिक सम्बन्धसँग जोडिएको पर्व भएको बताउनुभयो । पर्वले समाजमा एकता र सहिष्णुता बढाउन सहयोग गर्ने उल्लेख गर्दै उहाँले सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेकपाका संयोजक मायाराम अधिकारीले दसैँले आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको सन्देश दिने बताउनुभयो । समाजमा रहेका विभेद र असमझदारी हटाउँदै जनताको जीवनस्तर सुधार गर्ने काममा सबै पक्ष एकजुट हुनुपर्ने उहाँको धारणा थियो ।
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि रत्नबहादुर श्रेष्ठले चाडपर्वले सामाजिक सम्बन्ध सुदृढ गर्ने र समुदायबीच आत्मीयता बढाउने बताउनुभयो । पर्व मनाउँदा सामाजिक तथा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिलाई समेत सम्झनुपर्ने उल्लेख गर्दै उहाँले आपसी सहयोग र सद्भावलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
नारायण नगरपालिकाका प्रमुख लाेमन शर्माकाे अध्यक्षतामा भएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमल शर्मा, दैलेख उद्याेग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापा, नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाले बडादशैंकाे महत्व र यसले ल्याउने सामाजिक सद्भावकाे चर्चा गर्नुभएकाे थियाे ।











प्रतिक्रिया दिनुहोस्