
दैलेख – ‘लागू औषध तथा दुव्र्यसनी मुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ विषयमा सदरमुकाम दैलेखस्थित त्रिभुवन माविको प्राङ्गणमा जिल्ला व्यापी मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा भयो, विहान ११ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म चल्यो ।
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताह व्यापी सचेतना अभियानको आयोजक जिल्ला प्रशासन कार्यालय भएकोले उद्घोषक प्रशासकीय अधिकृत गणेश कोइराला र सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे बुधबार छैटाैं दिनको कार्यक्रम अवधिभर सहभागी हुनुभयो ।
आयोजक भएकोले दैलेखका ११ मध्ये ९ वटा पालिकाबाट आएका २० जना सहभागीहरुको नाम–नामेसी तयार पार्न, मूल्यांकनकर्ता व्यवस्थापन, प्रतियोगिताका सहभागीहरुको रोलक्रम तोक्न चिठ्ठा हाल्ने, प्रतियोगिताका वक्ताहरुलाई बोलाउने उद्घोषक प्रशासकीय अधिकृत गणेश कोइरालाले गर्नुभयो ।
प्रतियोगी वक्ताहरुले बोली सकेपछि मूल्यांकनकर्ताहरुले २० जनाको नतिजा तयार पार्न आधा घण्टा लाग्यो, बिजयी छात्रछात्राहरुको नाम, उनीहरु पढ्ने विद्यालयको नाम, उनीहरुले हासिल गरेको स्थान र पुरस्कार समेत प्रमाणपत्रमा लेख्ने र फ्रेममा प्रमाणपत्र हालेर वितरण गर्ने काम पनि त्यहीं गरियो ।
प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत दुई जना अधिकृत कार्यालयको मुख्य चाप हुुने समयभर त्यहाँ समय दिंदा कार्यालयको काम चाहिं सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी र प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीको काम गरिरहनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा सहसचिव प्रमुख जिल्ला अधिकारी, उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी र दुई जना शाखा अधिकृतहरुको दरबन्दी पदपूर्ति भएकोले काम विशेषले प्रशासनको प्रतिनिधित्व गर्न कार्यालय वा कार्यक्रममा पुगेका प्रमुख जिल्ला अधिकारी वा अधिकृतहरुले नागरिकतामा दस्तखत गर्न वा कार्यालयका अरु काम के भयो होला ? कार्यालय वाहिर हुनुभएका अधिकारीहरुले चिन्ता गरिरहन पर्दैन ।
प्रशासनको प्रतिनिधित्व गर्न कार्यालय वा कार्यक्रममा पुगेको बेला विषयमा गम्भीर्यता अनुसार पूरै समय बसेर विषयबस्तुको जानकारी लिन, आवश्यक समन्वय सहकार्य गर्न र आफू उपस्थित भएको कार्यक्रम, बैठक वा अनुगमनका काम समेतमा परिणाममुखी बनाउन सहयोग पुगेको प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, सरकारी तहबाट सञ्चालित विकास कार्यहरूमा सहयोग पुयाउने, सरकारी सम्पत्तिको रेखदेख तथा संरक्षण गराउने र नेपाल सरकारले समयमा समयमा दिएका आदेश वा निर्देशन अनुसारका काम कारवाही गर्ने मुख्य चार जिम्मेवारी दिएको छ ।
‘सुरक्षा र समन्वयकारी कामको अलवा एक वर्ष भन्दा कम सजाय हुने शान्ति सुरक्षा प्रवद्धात्मक मुद्दा छिन्न पाउने अर्धन्यायिक जिम्मवारी समेत भएको प्रमुख जिल्ला अधिकारीको काम दुई जनाले धान्न गाह्रो भएको थियो, सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत थपिएपछि कामकाजमा धेरै सजिलो भएको छ’ प्रमुख जिल्ला अधिकारी गैह्रेले भन्नुभयो ।
विकासे कामका विवादमा सुल्झाउन मद्दत गर्नुपर्ने, ढिलासुस्ती र अनियमितता हुन लागेको सूचना पाएको बेला समयमा सचेत गराउने, प्रशासनमा आएका मुद्दा र अख्तियार अनुसन्धान आयोगमा परेका उजुरीको समेत छानबिन गर्नुपर्ने जस्ता काम नियालेर हेर्न र कार्यालयको दैनिक प्रशासनिक काम समेत अलि बढी समय दिन सकिने भएको कामको गुणस्तर सुधार आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
२०७५ सालमा सहसचिव प्रमुख जिल्ला अधिकारी पठाउने १९ जिल्लामा दैलेख समेत परेको पनि २०७७ मा सन्तबहादुर सुनार, २०७९ मा गोगनबहादुर हमालपछि दुई महिना अघि बद्रीनाथ गैह्रे दैलखमा हाजिर हुनुभएको हो । यो विचमा ६ जना उपसचिवलाई नै गृह मन्त्रालयले दैलेखमा प्रमुख जिल्ला अधिकारीको रुमा खटाएको थियो ।
पहिला तराई १७ जिल्ला र त्यसबेलाको विकास क्षेत्रको मुकाम भएको जिल्ला सहसचिव प्रमुख जिल्ला अधिकारी राखेकोमा सरकारले २०६८ मा तीन निर्वाचन क्षेत्र हुने जिल्ला, पहिल्लो पटक २०७५ मा दुई संघीय निर्वाचन क्षेत्र हुने जिल्लामा समेत थपेपछि अहिले ६१ जिल्लामा प्रमुख जिल्ला अधिकारीमा सहसचिवको दरबन्दी छ ।
गृह मन्त्रालयलले सहसचिव दरबन्दी भएका सबै जिल्लामा पूर्ति गर्ने क्रममा दैलेखमा बद्रीनाथ गैह्रेलाई पठाएको हो । गृहमन्त्रालयका प्रशासन शाखा प्रमुख सहसचिव छवि रिजालले भन्नुभयो ‘अहिले गुल्मी जिल्ला बाहेक ६० जिल्लामा सहसचिवहरु प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । गुल्मी पनि छिट्टै पठाउदैछौं ।’
पहिले उपसचिव प्रमुख जिल्ला अधिकारी भएको बेला अर्को उपसचिव चाहिं सहायक प्रमुख जिल्ला अधिकारीमा बस्न नचाहेर होला दरबन्दी भएको व्यक्ति आउदैन थिए । सहसचिव प्रमुख जिल्ला अधिकारी भएकोले उपसचिव केसी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा हालै हाजिर हुनुभएको छ ।
चारै जना अधिकृतहरुको पदपूर्ति भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखका वेभसाइटमा पनि चारै जनाको नामनामेसी छ, कार्यालयका कामहरु पनि गति बढेको छ । गैह्रे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनु भएको लगतै सिफारिस तोकिएको कागजजात भएपछि छुट्टै निवेदन लेखिरहन नपर्ने, राहदानीको फाराम कार्यालयमै भरिदिने जस्ता कार्यालयका कामहरु सरल र सेवाग्राहीमैत्री बनाउनुभएको छ ।
पाँच वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी अनुभव भएका गैह्रे आफू कम बोल्ने, भेट्न आएका व्यक्ति र सेवाग्राहीसंग उनीहरुका कुरा सुन्ने, अन्तरमुखी स्वभाव र आफूले सम्पादन गर्ने कामहरु प्राय आफैले कम्प्यूटर टाइप गर्ने भएकोले कार्यालयको काम छिटो छरितो हुने गरेको निकटस्तहरुले बताए ।
जेठ १५ गते गणतन्त्र दिवसमा व्यापक नागरिक सहभागिता, गृह मन्त्रालयले असार १२ तदनुसार २६ जुनका दिन आज बिहीबार मनाउने भनिएको लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध एक दिने दिवस उहाँको अग्रसरतामा सप्ताह व्यापी सचेतना अभियान चल्यो ।
असार ६ गतेदेखि सुरु भएको अभियान भोलि असार १२ गते सकिंदैछ । अभियानको क्रममा पहिलो दिन असार ६ गते सचेतना कार्यक्रम, ७ गते रेडियो सम्वाद, असार ८ र ९ गते दैलेखका सबै पालिका स्तरमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।
असार १० गते होटल व्यवसायी र औषधि व्यवसायीहरुसंग लागू औषध रोकथाम सवालमा स्वास्थ्य सेवा कार्यालय दैलेखले अन्तरक्रिया कार्यक्रम गर्ने गरेको थियो । १२ गते विहान लागू औषध रोकथाम सचेतना प्रभात फेरि ¥यालीपछि सचेतना कोणासभा भयो ।
गणतन्त्र दिवस वा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताह व्यापी सचेतना कार्यक्रम सञ्चालन गर्दा उहाँ आफैले सरोकारवालालाई टेलिफोन गरेर बोलाउने, श्रोत र सहयोग जुटाउने अनि कार्यक्रम प्रभावकारी बनाउन पूरा समय दिएर लाग्ने भएकोले साझेदारी र सहभागिता बढेको गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द आफ्नो अनुभव सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्