२०८३ कात्तिक ८ , शनिबार (2026 Oct 24, Saturday)

हेल्मेट प्रहारबाट युवक घाइते



दैलेख – जिल्ला सदरमुकाम दैलेखबजारमा युवाहरुको आपसी विवादमा सामूहिक झडपको क्रममा हेल्मेट प्रहारबाट एक जना युवा घाइते भएका छन् । हाल कोहलपुरमा बस्तै आएका दुल्लू नगरपालिका–११ तोरायँका २० वर्षीय खगेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो ।

नारायण नगरपालिका–७ किमुगाउँ र काँडाचौरका ४ जना युवाहरुसंगै कर्णाली प्रदेश ००३प ७०९० र कर्णाली प्रदेश ०२००२ प ६१६१ नम्बरको मोटरसाइकल समेत प्रहरी नियन्त्रणमा लिएको छ । घाइतेको प्रारम्भिक उपचार दैलेख अस्पतालमा भइरहेको छ । घाइतेले अचेत अवस्था रहेकाे चिकित्सकले बताएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान थालिसकेको छ ।

जिल्ला सदरमुकाम दैलेखबजारस्थित एक रेष्टुरेन्टमा खाजा खाँदै गरेका युवाहरुवीच भएको विवादपछि थप मद्दतका लागि मोटरसाइकलमा आएका युवाहरुले देवकोटा चोकमै थापालाई हेल्मेट प्रहार गरेका प्रत्यक्षदशीहरुले बताएका छन् । कोहलपुर बस्तै गरेका थापा फुपूको छोरीको विवाहमा सहभागी हुन आएका थिए ।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते शनिबार