दैलेख – नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले पछिल्लो राजनीतिक परिवर्तनपछि जनताले अपेक्षा गरेअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले युवा स्वरोजगार, शान्ति र सुशासनको प्रत्याभूति दिन नसकेको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार बडादसैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले साे विचार राख्नुभएकाे हाे ।
राजनीतिक परिवर्तनले नागरिकको जीवनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिए पनि युवालाई रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउने तथा जनतामा आशा जगाउने काममा सरकार कमजोर देखिएको केन्द्रीय सदस्य बुढाले टिप्पणी गर्नुभयाे । उहाँले सरकारले गर्ने रचनात्मक काममा सघाउने र गलत गरेकाे बेला विपक्षी दलका नाताले सरकारले सचेत गराउने बताउनुभयाे ।
बुढाले राजनीतिक परिवर्तनको औचित्य जनताले अनुभूति गर्ने परिणामबाट स्थापित हुने बताउनुभयो । जनताको अपेक्षाअनुसार सुशासन कायम गर्ने, शान्ति सुरक्षा बलियो बनाउने र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने विषयमा सरकारले प्रभावकारी काम गर्नुपर्ने उहाँले जोड दिनुभयो । जनताको विश्वास जित्न नाराभन्दा परिणाममुखी काम आवश्यक रहेको उहाँको धारणा थियो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले दसैँजस्ता सांस्कृतिक पर्वले सामाजिक मेलमिलाप, पारिवारिक सद्भाव र आपसी सहयोगको भावना अभिवृद्धि गर्ने बताउनुभयो । पर्व मनाउने क्रममा सामाजिक सद्भाव कायम राख्दै विपन्न तथा समस्यामा रहेका परिवारलाई समेत खुसीमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले बडादसैँले परिवार तथा आफन्तबीचको सम्बन्ध बलियो बनाउनुका साथै समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना विकास गर्ने बताउनुभयो । पर्वको सांस्कृतिक महत्व जोगाउँदै सामाजिक एकता र राष्ट्रिय हितका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाका पूर्वसांसद रविन्द्रराज शर्माले बडादसैँ नेपाली समाजको मौलिक संस्कृति, परम्परा र पारिवारिक एकतासँग जोडिएको पर्व भएको बताउनुभयो । सांस्कृतिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सकारात्मक संस्कार हस्तान्तरण गर्नुपर्ने उल्लेख गर्दै उहाँले दसैँले समाजमा आपसी सम्मान, सद्भाव र सहकार्य बढाउने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले दसैँले सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउने बताउनुभयो । स्थानीय तह, सरकारी निकाय, राजनीतिक दल र नागरिकबीच समन्वय कायम गर्दै जिल्लाको विकास तथा जनताको सेवामा साझा प्रयास आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । पर्वको अवसरमा एकता र सहकार्यको सन्देशलाई व्यवहारमा उतार्नुपर्ने उहाँको भनाइ थियो ।
एमालेका नेता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रमकाे अध्यक्षता नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले गर्नुभएकाे थियाे । कार्यक्रम रास्वपाका सचिव रमेश केसी, नेकपाका संयाेजक मायाराम अधिकारी, नेमकिपाका प्रतिनिधि रत्नबहादुर श्रेष्ठ लगायतले बडादशैं पर्वकाे महत्व र यसले दिने सन्देश बारे चर्चा गर्नुभएकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्