२०८३ असोज २६ , सोमबार (2026 Oct 12, Monday)

पहिरोले एक्स्काभेटर सहित चालक पुरिए



मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् । घटनामा सहचालक घाइते भएका छन् । चालकको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा आज बिहान करिब ८ः३० बजे पहिरो खसेको हो । पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र चालक २४ वर्षीय विमल बाग पुरिएका छन् ।

बझाङ स्थायी ठेगाना भएका बागको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । एक्स्काभेटरमा रहेका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ ।

प्रहरीका अनुसार घाइते सहचालक बोल्न सक्ने अवस्थामा छन् । पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमान्डमा रातापानीबाट ६ जना र प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको कमान्डमा माझचौरबाट सात जना गरी १३ जना प्रहरी उद्धारमा संलग्न छन् । चालकको अवस्था र उद्धारको प्रगतिबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार