२०८३ असोज ११ , आइतबार (2026 Sep 28, Monday)

म्याग्दीमा पहिरोले ४ जना पुरिए



म्याग्दी – निरन्तरको वर्षाका कारण अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी चार जना पुरिएका छन् भने पोखरेबगरस्थित पक्की पुलको जग कटान भएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नं. ३ मा दुई जना र वडा नं. ५ मा दुई जना गरी चार जना पहिरोमा पुरिएका छन् । वडा नं. २, ३ र ५ मा कम्तीमा ६–७ वटा घर बाढी तथा पहिरोले पुरिएका उहाँले बताउनुभयाे ।

वडा नं. ३, ५, ६, ७ र ८ लगायतका अधिकांश क्षेत्रमा पहिरो गएको अध्यक्ष पुनले बताउनुभयो । बाढीपहिरोको जोखिममा रहेका ८–१० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन भइरहेको छ ।

बाढीले पोखरेबगरस्थित मोटरेबल पुल नबगाए पनि पुलको जग वरिपरि करिब २० मिटर कटान गरेको छ । जग कमजोर बनेपछि पुलबाट सवारीसाधन आवतजावत गर्न नमिल्ने भएको हो । प्रभावित क्षेत्रमा उद्धार तथा थप क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार