डोल्पा – काइके गाउँपालिका–७ लावनमा सडक निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गासहितको सुक्खा पहिरोले लागेर घाइते हुनुभएका कार्यवाहक वडाध्यक्ष भीमबहादुर बुढाको उपचारका क्रममा मृत्यू भएको छ ।
कात्तिक २६ गते बिहीबार दिउँसो करिब ४ बजे सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा बुढा गम्भीर घाइते हुनुभएको थियो ।
घटनालगत्तै उद्धार गरी उहाँलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगञ्ज लगिएको थियो ।
नेपालगञ्जस्थित नर्सिङ होममा उपचारकै क्रममा शनिबार बुढाको मृत्यू भएको हो ।
बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष कामविशेषले जिल्ला बाहिर गएपछि उहाँले केही समयदेखि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्