२०८३ कात्तिक २६ , बिहीबार (2026 Nov 12, Thursday)

महँगीविरुद्ध स्पेनमा आम हडताल !



म्याड्रिड – बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा भएको आम हडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । १४ वर्षपछि पहिलोपटक भएको आम हडतालका क्रममा नकाबधारी समूहले तोडफोड र आगजनीसमेत गरेका छन् ।

देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा राजधानी म्याड्रिड भएको हडतालमा झण्डै एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । आवास लागत र दैनिक उपभाेग्य बस्तुको मूल्य बृद्धिकाे विरोधमा प्रदर्शन भएकाे हाे ।

बार्सिलोनामा नकाबधारी समूहले फोहोर फाल्ने डिब्बामा आगो लगाउनुका साथै पसलहरूमा तोडफोड गरेका थिए । प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौँ व्यक्ति पक्राउ परेका छन् ।

हडतालका कारण स्पेनभर यातायात तथा अन्य सार्वजनिक सेवामा अवरोध भएको छ । म्याड्रिड र बार्सिलोनाका मुख्य सडकमा यातायात प्रभावित भए पनि बार्सिलोनाको प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासहित ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए । प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आफ्नो तलबको तुलनामा दैनिक खर्च धान्न कठिन भएको बताएकी छन् ।

यसैबीच, स्पेनमा नोभेम्बर २९ मा संसदीय चुनाव हुँदैछ । प्रधानमन्त्री पेड्रो सान्चेजले आवास सुधार योजना संसदीय स्वीकृति प्राप्त गर्न असफल भएपछि गत महिना नै समयपूर्व चुनाव घोषणा गरेका थिए । सान्चेज र उनका मन्त्रीहरूले काम रोक्दै किफायती आवासको माग गर्न नागरिकलाई प्रोत्साहित गरेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २६ गते बिहीबार