२०८३ कात्तिक २४ , सोमबार (2026 Nov 9, Monday)

एनभिडियाका सिइओ माथि छानबिन हुँदै



प्रेमिका एलिस हुआङका साथ जेन्सेन

वासिङटन – चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँग विवाह बाहिरको सम्बन्ध स्वीकार गरेपछि अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङ माथि स्वतन्त्र छानबिन हुने भएको छ । एनभिडियाको सञ्चालक समितिले अमेरिकी गुप्तचर अधिकारीहरूले चीनका लागि सूचना संकलन गर्न परिचालन गरेको आशंका गरेकी एलिस हुआङसँगको सम्बन्धबारे अनुसन्धान गर्ने निर्णय गरेको हो ।

सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिसले एनभिडियाबाट ठूलो परिमाणमा कृत्रिम बौद्धिकता (एआई) चिप खरिद गर्ने कम्पनीमा काम गरेकी थिइन् । अमेरिकी गुप्तचर अधिकारीहरूले एलिसलाई चीनको राज्य सुरक्षा मन्त्रालयले जेन्सेनसँग निकट सम्बन्ध बनाएर एनभिडियाका संवेदनशील सूचना प्राप्त गर्न परिचालन गरेको निष्कर्ष निकालेको न्युयोर्क टाइम्सले जनाएको छ । जेन्सेन र एलिसको थर एउटै भए पनि उनीहरूबीच पारिवारिक सम्बन्ध छैन ।

सन् २०२३ मा स्थापना भएको मेगास्पिडले सन् २०२४ जुनदेखि ४ अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी मूल्यका एनभिडिया चिप खरिद गरेको थियो । अमेरिकाले अत्याधुनिक एआई चिप चीन निर्यात गर्न प्रतिबन्ध लगाएका बेला ती चिप वा तिनबाट उपलब्ध हुने कम्प्युटिङ सेवा चीनसम्म पुगिरहेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले कम्पनीको कारोबारमाथि निगरानी गरिरहेका थिए । यही क्रममा एलिस र जेन्सेनबीचको सम्बन्धबारे विवरण फेला परेको बताइएको छ ।

एनभिडियाले नोभेम्बर ८ मा विज्ञप्ति जारी गर्दै स्वतन्त्र छानबिन गर्ने घोषणा गरेको हो । कम्पनीले अहिलेसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा आफ्ना गोप्य सूचना चुहिएको विश्वास गर्ने आधार फेला नपरेको जनाएको छ । छानबिनको नेतृत्व कम्पनीका स्वतन्त्र सञ्चालकहरूले बाह्य कानुनी विज्ञको सहयोगमा गर्नेछन् । अनुसन्धान अवधिभर जेन्सेन सिइओकै जिम्मेवारीमा रहने र छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

श्रीमती लोरी मिल्स साथ जेन्सेन

छानबिनको घोषणा हुनुअघि जेन्सेनले कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा श्रीमती लोरी मिल्सप्रति बेइमानी गरेको स्वीकार गर्दै परिवारसँग माफी मागेका थिए । आफ्नो कामको कुनै बहाना नभएको उल्लेख गर्दै उनले त्यसबाट श्रीमती र छोराछोरीलाई चोट पुगेको स्वीकार गरेका छन् । यसअघि अक्टोबर २९ मा सार्वजनिक भएको समाचारमा एनभिडियाले एलिससँगको सम्पर्क सामान्य व्यावसायिक सम्बन्ध भएको बताएको थियो । तर नोभेम्बर ६ र ७ मा प्रकाशित थप विवरणपछि घटनाले गम्भीर रूप लिएको हो ।

अमेरिकी प्रतिनिधिसभाका विदेश मामिला, चीनसम्बन्धी विशेष र गुप्तचर समितिका प्रमुखहरूले पनि जेन्सेनसँग जवाफ मागेका छन् । उनीहरूले नोभेम्बर १८ मा बन्द बैठकमा उपस्थित भएर एलिससँगको सम्बन्ध, मेगास्पिडसँगको कारोबार र कम्पनीका संवेदनशील सूचना सुरक्षाबारे जानकारी दिन आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले भने गुप्तचरसम्बन्धी विषय भएकाले यसबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेन्सेनलाई सम्मानित व्यक्ति भन्दै उनको बचाउ गरेका छन् । ताइवानमा जन्मिएका जेन्सेनले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए । एआई प्रविधिको विस्तारसँगै कम्पनी विश्वकै प्रमुख चिप उत्पादकमध्ये एक बनेको छ । चीनले भने जासुसीसम्बन्धी आरोपलाई आधारहीन अनुमान भन्दै अस्वीकार गरेको छ । जेन्सेनले चीनलाई गोप्य सूचना उपलब्ध गराएको कुनै प्रमाण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २०८३ कात्तिक २४ गते सोमबार