दैलेख – जुम्लाको सिजा गाउँपालिका–६ सनीगाउँका दानबहादुर रोकाय उमेरले ४८ वर्षको हुनुभयो । कक्षा ४ पढ्दै गर्दा करिब १२ वर्षको हुदा पहिलो पटक जडीबुटीको व्यापार गर्दै भारतको गढवाल क्षेत्रमा पुग्नुभयो ।
त्यो बेला २ महिनाको हिउँदे बिदा उपयोग गर्दै जडीबुटीको व्यापार गर्न जाँदाको कमाईले व्यापारमै लागि रहन प्रेरणा दियो । फर्किएर पढाई पनि निरन्तरता दिंदै अनि समय निकालेर बेलाबेला व्यापारमा पनि जुट्नुभयो ।
उहाँको व्यापार यात्रा झण्डै ३६ वर्ष भयो । यो समय अवधिमा पहिले पैदल हिँड्दा यो बाटो हिँडे पनि गाडी चलिसकेपछि चाहिँ रोकाय पहिलो पटक व्यापारको सिलसिलामा दैलेख सदरमुकाममा पुग्नुभयो ।
यो पटक तिहारका लागि ढाँका टोपीको व्यापारका लागि उहाँ दैलेख सदरमुकाम आउनुभएको हो । उहाँले सदरमुकामको मुख्य चोक देवकोटा चोकमै खुला ठाउँमा टोपी फैलाएर तीन दिनमा एक हजार टोपी बेच्नुभयो ।
एउटा टोपी २५० रुपैंयाँमा दिएको हुनाले रोकायले चोकमा फैलाउनुभएको फुटपाथ पसलबाटै धेरैले खुशी भएर किने । ‘चाहिएकै पनि थियो साह्रै सस्तो लागेर पनि ४ वटा टोपी किनें’ नौमूलेकी हिरा बस्नेतले भन्नुभयो ।
टोपी किन्ने मान्छे एकछिन नहुँदा उहाँले जुम्ली भेडाको ऊनको स्वीटर बुन्न थालिहाल्नु हुन्थ्यो । टोपी र स्वीटर समेतको व्यापार राम्रो भएकोमा पाएको खुशी भन्दा यातायात सञ्चालन भएपछि दैलेखका मान्छेको चेतना बढेको देखेर खुशी लागेको रोकायले भन्नुभयो ।
पैदल हिंडेर सुर्खेतदेखि कालिकोट हुदै जुम्ला आउजाउ गर्दा दैलेख सदरमुकाम भएर धेरै पटक यात्रा गर्नुभएका रोकायले थप्नुभयो ‘हामी पैदल हिंड्दा हामीलाई जुम्ली भन्दै हेप्ने गर्थे अहिले त सबैलाई मर्यादा गर्ने रैछन् ।’
३५–३६ वर्षको व्यापारिक यात्राको क्रममा आफूले सुदूरपश्चिमका हिमाली क्षेत्र र कर्णालीको हुम्ला समेत ६ जिल्ला मात्र घुम्न बाँकी रहेको बताउनुभयो । भारतका १४ प्रान्त र नेपालका ७१ जिल्ला यात्राले ती ठाउँहरुको भूगोलको जानकारी र समाज–सँस्कृति बुझ्न पाएको उहाँले सुनाउनुभयो ।
हामी जस्तै यात्रामा हिंड्नेहरुले सिके जस्तै यातायातको पहुँच बढेपछि मान्छेहरुको भाषा, जीवन शैली र व्यवहारमा पनि सुधार आउँदो रैछ दैलेख सदरमुकाम आएपछि यहाँका मान्छेको चेतना उठेको पाएको टिप्पणी गर्नुभयो ।
दैलेख हुँदै अनगिन्ती यात्राको क्रममा माओवादी जनयुद्धको चरम उत्कर्षको समय २०६० मंसिर २८ गते दैलेखको दशरतेमा माओवादी र सेनाको दोहोरो भीडन्तको बेला सावधानीले बालबाल ज्यान जोगिएको स्मरण गर्नुभयो ।
‘सेनाको पैदल गस्ती अगाडि बढ्दै गरेको देखेर माओवादीले फायर खोलेको लगतै सेनाले गोली चलाएको त्यही संयोगमा व्यापारका सिलसिलामा पैदल हिंडिरहेका जुम्लाका आफू समेत १२–१४ जना बाटोमै रोकिएपछि सेनाले सामान्य केरकार गरेर छोडेको अहिले जस्तो लाग्छ’ उहाँले भन्नुभयो ।
१२ कक्षासम्म पढाई पूरा गर्नु भएका रोकायले २०५६ मा एसएलसी उत्तीर्ण गर्नुभएको हो । व्यापारको कमाईले रोकायले सुर्खेतमा घर, काठमाण्डौंमा घडेरी जोड्नुभएको छ । उहाँले रैथाने ठाउँ शनिगाउँमा न्यू स्टार एकेडमी सञ्चालन समेत गर्नुभएको छ ।
सन्तानमा दुई छोराहरु पूरा गरी जापान र दुबईमा रोजगारीमा जुटेका छन् । छोराहरुका लागि असल शिक्षा, आफूहरुका लागि सुखी जीवन बनाउन व्यापारले नै सम्भव भएको उहाँले बताउनुभयो ।
रोकाय जस्तै जुम्लाका मान्छे व्यापारमा किन लाग्छन् भन्ने पहरेदारको प्रश्नमा उहाँले भन्नुभयो हिमाली क्षेत्रमा हिउँदमा बस्नै गाह्रो हुने, उव्जनी पनि नहुने भएकोले त्यहाँ सबैजसो पुरुषहरु व्यापारमा जुट्छन ।










प्रतिक्रिया दिनुहोस्