२०८३ कात्तिक २१ , शुक्रबार (2026 Nov 6, Friday)

प्रेस काउन्सिल अध्यादेश रोक्न महासङ्घको आग्रह



काठमाण्डौं – नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । महासङ्घले अध्यादेश जारी गर्ने विषयमा संविधानको मर्मअनुसार आफ्नो विवेक प्रयोग गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको हाे ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार र केन्द्रीय सदस्यसहितको टोलीले राष्ट्रपतिसँग भेट गरी अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे ध्यानाकर्षण गराएको हो ।

सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने महासङ्घको भनाइ छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भेटका क्रममा राष्ट्रपतिलाई यस विषयमा जानकारी गराइएको उल्लेख छ ।

समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेको घटनाको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही नगर्दै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित पार्न खोजेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार