दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका दुई स्थानमा लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
दुल्लु नगरपालिका–५ चाँदनी चोकमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको उपस्थितिमा कार्यक्रम गरेको हो । प्रहरी सहायक निरीक्षक पुकस बहादुर सुनारको कमाण्डमा टोली परिचालन गरिएको थियो ।
त्यस्तै, आठबिस नगरपालिका–२ हुलाक डाँडामा अस्थायी प्रहरी पोष्ट हुलाक डाँडाबाट खटिएको टोलीले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक हवल्दार गणेश साउदको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दालाई लैंगिक हिंसाका विषयमा सचेत गराउँदै यसको न्यूनीकरणका लागि समुदायको भूमिका र सहकार्यको महत्त्वबारे जानकारी दिइएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरीले स्थानीय तह र समुदायसँग सहकार्य गर्दै अपराध तथा हिंसा न्यूनीकरणका लागि सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्