२०८३ कात्तिक २१ , शुक्रबार (2026 Nov 6, Friday)

संसद् सञ्चालनबारे राष्ट्रपतिसँग सभामुखको छलफल



काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा संसद्को अधिवेशन आह्वान, नियमित सञ्चालन र प्रभावकारिताका विषयमा छलफल भएको हो ।

सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुखले जानकारी गराउनुभएको थियो ।

राजनीतिक दलहरूसँगको छलफलमा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी दिँदै सभामुख अर्यालले सातै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि अवगत गराउनुभएको थियो ।

राष्ट्रपति पौडेलले संसद्मा धेरै बहस र छलफल हुनुले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उल्लेख गर्दै उहाँले सरकारले गरेका कामकारबाहीबारे पनि चासो राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार