२०८३ कात्तिक २१ , शुक्रबार (2026 Nov 6, Friday)

बसमा महिला माथि दुर्व्यवहार गर्ने तीन युवक पक्राउ



महेन्द्रनगर – काठमाण्डौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा वडा नं. ३ तिलकेनीका जीवन बम रहेका छन् ।

गत कात्तिक १७ गते महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतले बताउनुभयो । पीडित युवतीले प्रहरीमा निवेदन दिएपछि तीनै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

बस कर्मचारीका अनुसार तीनै युवकले धादिङको धार्के पुगेपछि मदिरा सेवन गरी महिला यात्रुलाई लक्षित गरेर अपशब्द प्रयोग गर्नुका साथै अभद्र व्यवहार गरेका थिए । अन्य यात्रुले सम्झाउँदा पनि उनीहरूले व्यवहार नरोकेको बताइएको छ ।

बसको सीसीटीभीमा कैद भएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ । यसअघि बुटवल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर एक रात हिरासतमा राखेको र पछि महेन्द्रनगर पठाएको थियो । पीडितको उजुरीपछि कञ्चनपुर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार