२०८३ कात्तिक २१ , शुक्रबार (2026 Nov 6, Friday)

मिलरको कीर्तिमानी ; सुदूरपश्चिम विजयी



काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि डेब्यु खेल खेलेका डेभिड मिलरले नटआउट ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । ५५ बल खेलेका उनले सात छक्का र पाँच चौका प्रहार गरे । यो तेस्रो संस्करणको एनपीएलमा कुनै पनि खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन हो । यसअघि विराटनगर किङ्ग्सका लोकेश बमले कर्णालीविरुद्ध ८७ रन बनाएका थिए । मिलर खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका सेफ जेबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३ र थरिन्दु रत्नायकले नटआउट २२ रन बनाए । कर्णालीका मार्क वाटले दुई विकेट लिए ।

जितसँगै सुदूरपश्चिम पाँच खेलमा ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको कर्णाली चार खेलमा चार अङ्कसहित पाँचौँ स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । बेलुका ५ बजे हुने खेलअघि चितवन तीन खेलमा तीन अङ्कसहित सातौँ र पोखरा तीनै खेलमा पराजित हुँदै अङ्कविहीन अवस्थामा तालिकाको पुछारमा छ । आठ टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार