काठमाण्डौं – फिफा विश्वकप फुटबल २०२६ को उपाधिका लागि आज राति साबिक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
अमेरिकाको मेटलाइफ स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले एक गोल मात्र बेहोरेको छ ।
१९ वर्षीय लामिन यामाल र ३९ वर्षीय कप्तान लियोनेल मेस्सीबीचको प्रतिस्पर्धाले फाइनललाई थप विशेष बनाएको छ । मेस्सी आठ गोल र चार असिस्टसहित उत्कृष्ट प्रदर्शनमा छन् भने फ्रान्सका किलियन एम्बाप्पे १० गोल सहित गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।
स्पेनले सन् २०१० पछि दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने अभियानमा रहेको छ । हालसम्म दुवै टोलीबीच भएका १४ खेलमा दुवैले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् ।









प्रतिक्रिया दिनुहोस्