२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

 सामाजिक सञ्जाल र सोच



‘छोराको खर्च बढ्यो, छोरीको घट्यो भने लभ पर्‍यो भन्ने बुझ्नू ।’,

‘Dream girl पाउन धन, सम्पती र पैंसा चाहिन्छ ।’,

‘हरेक केटी single नै हुन्छन् सोध्ने केटा धनी हुनु पर्छ ।’

तपाइँ फेसबुक, टिकटक वा इंस्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ ? यदि प्रयोग गर्नुहुन्छ भने, तपाईंले यस्ता स्टाटस, मीम वा ट्रेन्डिङ जोक त पक्कै देख्नुभएको होला । यी वाक्यहरू सुरुमा रमाइला लाग्न सक्छन् । तर साँच्चै भन्ने हो भने, यी जोक होइनन् यी छोरीहरूमाथि गरिने अदृश्य सामाजिक हमला हुन् । हाँसोको आवरणमा लुकाइएको तीखो अपमान हुन्, आधुनिक शैलीमा महिला माथि गरिएको मानसिक आक्रमण  जुन हामी हरेक दिन सामान्य ठान्दै गइरहेका छौं। यी ट्रेन्डिङ ट्रोलहरू केवल सामाजिक सञ्जालमै सीमित हुँदैनन्, यी चेतनामा प्रवेश गरेर महिलाको आत्मसम्मान र अस्तित्वलाई हरेक दिन खुइल्याइरहेका हुन्छन् । मजाकको नाममा आएका यी विचारहरू हाम्रो समाजमा लिङ्गीय असमानताको नयाँ अनुहार हुन् । जहाँ छोरीलाई हाँसोको पात्रको रूपमा प्रस्तुत गरिन्छ । यी पोस्टहरू हाँसो होइन, हेराइको विकृति हुन् । यी मजाक होइनन्, पुरुषप्रधान मानसिकताको मुखौटा लगाएका साँस्कृतिक विष हुन्।

यी memes र trolls झट्ट हेर्दा हल्का लाग्न सक्छन्, रमाइलो लाग्न सक्छन्  तर ती हाँसोका छायाँभित्र गहिरो घृणा, अवमूल्यन, र लिङ्गीय असमानताको बीउ भेटिन्छ । यस्ता ट्रोल र स्टाटसहरू केवल व्यक्तिगत सोच होइनन्, सामूहिक चेतनाको ऐना हुन् । जब हजारौंले लाइक गर्छन्, सेयर गर्छन् अनि कमेन्टमा “हाहा सही हो” भन्छन्, त्यसले यस्ता विचारलाई मान्यता र मानक बनाइदिन्छ। जसरी टिभीमा पटक पटक देखिएको दृश्य हाम्रो दिमागमा बस्छ, त्यस्तै गरी हरेकपटक यस्ता पोस्ट देख्दा एक किसिमको सामूहिक सोच निर्माण हुन्छ  जुन सोच महिलालाई सधैं दोश्रो दर्जाको नागरिक सम्झन्छ । यसैले यस्ता मजाकहरू मनोरञ्जन होइनन् ती विचार निर्माण गर्ने कारखाना हुन्, जसले भविष्यको समाज कस्तो हुने भन्ने निर्धारण गरिरहेका हुन्छन् ।

यस्ता पोस्टहरू दिनहुँ फेसबुक, इंस्टाग्राम, TikTok जस्ता सामाजिक सञ्जालमा फैलिरहँदा  तिनीहरूले महिलालाई केवल सुन्दरताको प्रतीक, लोभलाग्दो सुविधा खोज्ने पात्र, वा पैंसाको पछि लाग्ने चरित्रको रूपमा चित्रित गरिरहेका हुन्छन् । यस्तो सोच समाजमा गडेर बस्दा, महिलाको आत्मछविमा आघात पुग्छ र उनीहरूको स्वतन्त्र अभिव्यक्तिमा कुहिरो लाग्न थाल्छ । छोरीहरूले यस्ता सामग्रीहरू बारम्बार देख्दा, उनीहरूले आफैंलाई मूल्यहीन महसुस गर्न सक्छन् । ‘मैंले गर्ने कामप्रति यो समाजले कस्तो प्रतिक्रिया दिन्छ होला भन्ने डर हुनुका साथै मैंले साच्चिकै केही गर्न सक्दिन कि ?’ जस्ता प्रश्नहरूले छोरीहरूको आत्म-संवादमा विष घोल्छ र उनीहरूको आत्मबललाई कमजोर बनाउँछ ।

साथै यस्ता मजाक पुरुषहरूका लागि पनि घातक छन् । यसले युवाहरूलाई सिकाउँछ कि प्रेम पाउन पैंसा चाहिन्छ, सम्बन्धको मूल्य धन, सम्पती र पैंसाले तोकिन्छ । फलस्वरूप, केटाहरूमा माया, सहकार्य, इज्जत र आत्मीयता जस्ता  मान्यताहरूको सट्टा प्रदर्शन र प्रदर्शनको प्रतिस्पर्धा जन्मिन्छ । यस्ता सामाग्रीहरूको डर लाग्दो पक्ष के हो भने यी संरचनात्मक असमानतालाई सामान्यीकृत गर्छन् । आज एकजना छोरीको चरित्रलाई हाँसो बनाइन्छ, भोलि उसको आवाजलाई गम्भीरताका साथ नसुन्ने प्रवृत्ति जन्मिन्छ । यसरी सामाजिक सञ्जालले स्त्री विरोधी दृष्टिकोणलाई ‘trend’ बनाउँछ, र हाँस्न मिल्ने भेषमा चेतनामा गाडिदिन्छ ।

तर साँचो यथार्थ भनेको अहिलेका सताब्दीकी छोरीहरू केवल meme र troll मा समेटिने पात्र होइनन् । उनीहरू यस्ता सस्तो मजाकभन्दा निकै माथि उठिसकेका छन् । सामाजिक, राजनीतिक, शैक्षिक, वैज्ञानिक, सिर्जनात्मक हरेक क्षेत्रको अग्रपंक्तिमा आज छोरीहरू आफ्नै पहिचान, आत्मसम्मान र साहसको साथ उभिएका छन्। आफ्नो संघर्ष र क्षमताबाट इतिहास रच्ने छोरीहरू कुनै पनि सन्दर्भमा जोकर बन्ने लेवलमा छैनन् । उनीहरू नेतृत्वको शिखरमा पुग्न सक्ने पात्र हुन् । कतिपय छोरीहरूले विपन्नता चिरेर शिक्षा पाएका छन्, कतिले परिवारको विरोध चिरेर स्वर पाएका छन्, कतिले हिंसाको अँध्यारो भत्काएर आफ्नो अस्तित्व खडा गरेका छन् । यिनै छोरीहरूले अहिले समाज बदल्ने सवाल उठाएका छन्, आन्दोलनमा अग्रसर छन्, कानून बनाउने तहसम्म पुगेका छन् । छोरीहरूलाई हाँसो होइन, सम्मान गर्नुपर्ने हो किनकि उनीहरूले इतिहासको पाना मात्र होइन, चेतनाको स्वरूप बदल्ने काम गरिरहेका छन् ।

यस्ता meme लाई रमाइलो भन्दै बाँडिरहँदा, कतै ती छोरीहरूकै मेहनत र पहिचानलाई अपमान गरिरहेका त छैनौं ?  यस्ता ट्रोलहरूलाई चुपचाप स्वीकृति दिँदै जानु भनेको, फेरि पनि छोरीको आवाज दबाउने अभ्यासलाई अनुमोदन गर्नु हो । तर अब समय बदलिएको छ छोरीहरू अब केवल सुन्ने होइन, उत्तर दिने ठाउँमा पनि पुगेका छन् । अब  हास्नुअघि एकचोटि सोच्नुपर्ने बेला आएको छ के हाम्रो हाँसोले कसैको आत्मसम्मानलाई कुल्चिएको त छैनौं ? के रमाइलोको नाममा हामी कुनै वर्ग, लिंग वा समुदायको निरन्तर अपमानलाई सामान्य बनाउँदै त छैनौं ? यस्ता सामग्रीहरू प्राय त्यस्ता व्यक्तिहरूबाट आउँछन्, जो महिला सशक्तिकरणसँग डराउँछन् । महिलाको आत्मनिर्भरता, स्वतन्त्र सोच र निर्णय क्षमताले उनीहरूलाई असहज बनाउँछ । त्यसैले छोरीहरूलाई कमजोर, लोभी, सौन्दर्य केन्द्रित, वा केवल सम्बन्धमा आश्रित पात्र बनाउने मजाक हरू बनाईन्छ, जसले उनीहरूको वास्तविक सशक्त पहिचानलाई छायाँमा पार्ने काम गर्छ।

यो पनि हिंसाकै स्वरूप हो । जुन हाँसोको नाममा हुन्छ, संस्कारको नाममा हुन्छ,  अनि कहिले ‘केटी त हो नि’ भन्ने सोचको नाममा । शारीरिक चोट जस्तो देखिन्न, तर मनको गहिरो ठाउँमा पग्लन नदिने घाउ बनिदिन्छ । हामीले बुझ्न जरुरी छ । हिंसा सधैं हात उठाएर वा थप्पड हानेर मात्र हुँदैन, सोच र शब्दले पनि हुन सक्छ । यस्तै सोच, यस्तै शब्दले आज हजारौँ छोरीहरूको आत्मविश्वास र अस्तित्वको अपहेलना हुने गरेको छ । यहाँ प्रश्न केवल meme को होइन सोचको हो । अब कुरा केवल रमाइलोको होइन, सम्मानको हो ।  रमाइला ठानिएका यस्ता पोष्टहरुले एक पुस्ताको चेतना बनाउँछ  र त्यही चेतनाले भोलिको समाज बनाउँछ । त्यसैले अब हाम्रो मौनता अपराध हुन सक्छ, हाँसो अज्ञानताको प्रमाण हुन सक्छ । सियर गरिएको ट्रोल असमानताको समर्थन र असामाजिक मानसिकताको जड हुन सक्छ ।

हामी कस्तो कुरामा हाँस्ने गरिरहेका छौं ? भन्ने कुराले हामी के स्वीकार गर्छौं र हाम्रो चरित्र कस्तो छ भन्ने कुरा निर्धारण गर्दछ । छोरीमाथि हाँसो होइन, छोरीसँग सहकार्य गरौं । उनलाई मजाक होइन, मित्र बनाऔं । सबैको जिम्मेवारी हो । हाम्रा शब्द, सन्देश र सोचमा बराबरी, सम्मान र चेतना स्थापित गरैं। किनकि छोरीहरू हाँसो मजाकका विषय होइनन् उनीहरू परिवर्तनको शक्ति हुन्। सोचौं लृख्नुअघि, सेयर गर्नुअघि र मूल्याङ्कन गर्नुअघि किनकी परिवर्तन यहीँबाट सुरु हुन्छ, हाम्रो सोचको ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार