२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

सुरक्षा सजगताका लागि सेनाको सीओबी



दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनको सुरक्षामा माघ २१ गतेदेखि परिचालन भएको नेपाली सेनाले  दैलेखका तीन स्थानमा कम्पनी अप्रेसन बेस (सीओबी) स्थापना गरेको छ । नेपाल सरकारको निर्णय अनुसार निर्वाचन सुरक्षामा नेपाली सेनालाई परिचालन गरिएको पहिलो दिन माघ २१ गतेदेखि दैलेख सदरमुकाम, दुल्लू र ठाँटीकाँधमा कम्पनी अप्रेसन बेस स्थापना गरिएको हो ।

जिल्ला सदरमुकामको काँडाचौरस्थित नेपाली सेनाको कालिदत्त गुल्म, दुल्लूस्थित बेस क्याम्प समेत दुई वटा सेनाको संरचना भएकै ठाउँ र ठाँटीकाँधको लकान्द्रमा नयाँ कम्पनी अप्रेसन बेस स्थापना गरिएको कालिदत्त गुल्मले दैलेखका गुल्मपति सेनानी सवलजंग शाह जानकारी दिनुभयो । निर्वाचन सुरक्षा प्रभावकारी बनाउन ग्रामीण क्षेत्रमा संवेदनशील क्षेत्रको निगरानी गरिरहेको सेनानी शाहले बताउनुभयाे ।

सम्भावित खतरा, हिंसात्मक अवस्था र अपराधिक गतिविधि हुन नपाओस् भनेर ग्रामीण क्षेत्रमा नियमित गस्ती, स्थानीय अवस्थाको विश्लेषण, शंकास्पद गतिविधिको रिपोर्टिङ गर्नुसंगै आकस्मिक घटना, झडप वा उछृंखल क्रियाकलाप भएको स्थानमा स्थानीय प्रशासन, जनपद प्रहरी र सशस्त्र प्रहरीसंगको समन्वयमा शान्ति सुरक्षा कायम गराउने कम्पनी अप्रेसन बेसले काम गर्ने मुख्य जिम्मेवारी छ ।

दुई वटा संसदीय निर्वाचन क्षेत्र रहेको दैलेखमा जिल्लाभर कुल १ लाख ६१ २०४ मतदाता रहेकामा निर्वाचन आयोगले क्षेत्र नं. १ मा ७९ हजार ७०१ र निर्वाचन क्षेत्र नं. २ मा चाहि ८१ हजार ५०३ अन्तिम मतदाता कायम गरेको छ । मतदान स्थलका हिसाव क्षेत्र नं. १ मा ७३ स्थानमा २०४ मतदान केन्द्र र क्षेत्र नं. २ मा ६६ मतदान स्थलमा २०४ मतदान केन्द्र रहेको जनाएको दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार