दैलेख – दैलेखको गुराँस गाउँपालिकाका आठवटै वडामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गर्न सञ्चालन गरिएको अभियानमा १ हजार ४१ बालबालिकाको लेखाजोखा गरिएको छ । पोषण परियोजनाले सुर्खेतको सिम्ता गाउँपालिकासम्म पनि अभियान विस्तार गरेको छ ।
गुराँस गाउँपालिकाको स्वास्थ्य शाखाको विवरणअनुसार १० वटा स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण अवस्था जाँच गरिएको हो । लेखाजोखामा ९ सय ६० बालबालिका हरियो, ७४ जना पहेँलो र सात जना रातो वर्गमा पहिचान भएका छन् । रातो वर्गमा परेका बालबालिकालाई विशेष ध्यान र उपचारको आवश्यकता पर्छ ।
अभियानबाट पहिचान भएका बालबालिकाको पोषण अवस्थाका आधारमा थप पोषण तथा उपचार सहयोग आवश्यक पर्ने समूह छुट्याउन सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले लाभग्राही बालबालिकाका अभिभावकहरुलाई आवश्यक थप तथा पूरक खानाका साथै सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।
स्वास्थ्य संस्थागत विवरणअनुसार सेप्टी स्वास्थ्य संस्थामा १४२, पुरैनीमा १७४, सेरीमा ६४, खड्कवाडामा ६० र सेरीवाडामा १४४ बालबालिकाको पोषण अवस्था जाँच गरिएको छ । त्यस्तै, गोगनपानीमा ९१, सानाकाँडामा ७१, पिलाडीमा १२४, लालीकाँडामा ९१ र धरमपोखामा ७२ र सुर्खेतकाे सिम्तामा ८ जना राउटे बालबालिकाको लेखाजोखा गरिएको छ गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण बीसीले जानकारी दिनुभयाे ।
गाउँपालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको विवरणमा कडा शीघ्र कुपोषण भएका बालबालिका ओटीसीमा उपचाररत रहेको जानकारीका लागि अनुरोध गरिएको छ । पोषण लेखाजोखाले जोखिममा रहेका बालबालिकालाई समयमै पहिचान गरी आवश्यक सेवा र उपचारकाे याेजना बनाउने तयारी भएकाे एभरेष्ट क्लवको पोषण परियोजना संयोजक लोकबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
पोषण बारे सामुदायको धारणा, पोषण बारे समाजमा रहेका नकारात्मक बुझाई, सामाजिक व्यवहार परिवर्तन बारे स्वास्थ्यकर्मीहरुले सचेतना र गम्भीर तीब्र कुपोषित बालबालिकाहरुको स्वास्थ्य सरसफाई, पोषण सुधार र आवश्यकताको आधारमा मेडिकल उपचार समेत गर्ने गरिएकाे छ । पोषण अभियानलाई सघाउन परियोजना क्षेत्रमा सरकारी स्वास्थ्य संस्थाहरुले सहकार्य गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्