२०८३ मंसिर ८ , मंगलबार (2026 Nov 24, Tuesday)

मानसिक स्वास्थ्य र आत्महत्या बारे आयाेगकाे चासाे



दैलेख – राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले मानसिक स्वास्थ्य, आत्महत्या र मानव अधिकार सवालमा बिस्तृत अध्ययन गरिरहेको छ । मानव अधिकार प्रवर्द्धनमा यसको असर र समाधानका उपाय खोज्न अध्ययन गर्न लागिएको आयोगका उपसचिव लोकनाथ बास्तोलाले जानकारी दिनुभयो ।

अध्ययनको सिलसिलामा दैलेख पुग्नु भएका उपसचिव बास्तोला, मानव अधिकृतद्वय सुमित्रा राई र नरेन्द्र खत्री समेतको टोलीले दैलेखका सरकारी सुरक्षा अधिकारीहरु जनप्रतिनिधि र सराेकारवालासंग भेट गरी जिल्लामा मानसिक स्वास्थ्य, आत्महत्या र मानव अधिकार सवाल विषयमा जानकारी लिएको थियो ।

दैलेखका प्रहरी इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिसंग सुझबुझ व्यवहार गर्नुपर्ने बताउनुभयो । जोखिममा रहेका नागरिकलाई समयमै स्वास्थ्य सेवासम्म पुर्‍याउँदै आत्महत्याको रोकथाम, सहयोग र मानव अधिकारको दृष्टिले घटनालाई सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले मानसिक स्वास्थ्य र आत्महत्यासम्बन्धी समस्या मानव अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो । प्रभावित व्यक्तिलाई विभेदरहित व्यवहार, गोपनीयता र सेवा उपलब्ध गराउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले स्थानीय तहले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान र परामर्श सेवामा पहुँच बढाउनुपर्ने बताउनुभयो । समुदायमा रहेका भ्रम हटाउँदै जोखिममा परेका व्यक्तिलाई स्वास्थ्य संस्थासम्म जोड्न पालिकाले समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो ।

नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले मानसिक स्वास्थ्यलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायका अधिकारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । प्रभावितलाई गोपनीयता कायम गरी परामर्श, उपचार र सामाजिक सहयोग दिन सेवा प्रणाली बलियो बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले मानसिक स्वास्थ्य र आत्महत्याका सवालमा समुदायस्तरमा सचेतना, मनोसामाजिक सहयोग र सेवामा पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो । जोखिममा रहेकालाई विभेदरहित सहयोग गर्दै मानव अधिकारको सम्मान सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो ।

छलफलकाे क्रममा आयाेगकाे चासाे अनुसार सरकारी सुरक्षा अधिकारीहरु र जनप्रतिनिधिले समुदायकाे गरिबी, युवा बेराेजगारी, चाडपर्वकाे खर्च बाेझले आत्महत्या हुने गरेकाे र मानसिक स्वास्थ्य समस्या लुकाउने प्रचलन तथा उपचारमा पहुँच नभएकाे कारण समाधानमा चुनाैतीपूर्ण रहेकाे सुनाउनुभयाे ।

मानसिक स्वास्थ्यकाे उपचारमा पहुँच अभिबृद्धि गर्न र आत्महत्या राेकथामका लागि समुदाय स्तरमा सचेतना बढाउन सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि र सराेकारवालालाई आग्रह गर्नुसंगै‌ नीतिगत सुधारका लागि पृष्ठपाेषण मागिएकाे राष्ट्रिय मानव अधिकार आयोगकी मानव अधिकृत सुमित्रा राईले बताउनुभयाे ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार