२०८३ मंसिर ७ , सोमबार (2026 Nov 23, Monday)

छोराको हत्या गर्ने आमाबुबालाई जन्दकैद



छाेराकाे हत्या घटनाका कसूरदारहरु

दैलेख – आफैले जन्माएका छोराको हत्या गर्ने आमाबुबालाई दैलेख जिल्ला अदालतले सोमबार जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश मेघनाथ चापागाइँको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गएको जेठ १९ गते नारायण नगरपालिका–९ बासकोटका ४६ वर्षीय यादव थापाको हत्या गरेको कसूरमा उनका बुबाआमा नारायण नगरपालिका–९ बासकोटका ७३ वर्षीय कविराज थापा क्षेत्री र ६७ वर्षीया पदमकुमारी थापालाई जन्मकैद अर्थात २५ वर्ष कैद गरिएको हो ।

नेपालगञ्जमै बस्तै आएका यादव पुर्ख्याैली कुल देउता पुज्न दैलेख आएको बेला आमा पदमकुमारीसंगको घरायसी विवादको बेला बुबा कविराजले हँसिया प्रहार गरी हत्या गरेका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र आमाबुबाको सावित बयान प्रमाणको आधारमा अदालतले फैसला सुनाइएको हो ।

हालसालै साँघातिक आक्रमणबाट दैलेखमा सामूहिक हत्याका २ वटा घटनाले सर्वत्र चर्चा पाएकै समयमा ६ महिना पुरानो यस्तै हिंसक घटनाका कसूरदारलाई अदालतले सजाय गरेको छ । श्रृंखलाबद्ध जघन्य अपराध भइरहेकोले समुदायमा प्रभावकारी सचेतना जरुरी रहेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी श्रवणकुमार बिकको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार