काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उहाँले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनुभएको हो ।
भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल र उपहार प्रदान गर्नुभएको थियो । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाइदिएर उपहार तथा दक्षिणा दिनुभएको राष्ट्रपति स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका तथा माला लगाएर दीर्घायु, सुख र समृद्धिको कामना गर्ने परम्परा छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्